२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश



अ+ अ-

इस्लामाबाद। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि राजधानी इस्लामाबादस्थित निजी अस्पताल लैजान तथा परिवारका सदस्यसँग साप्ताहिक भेटघाट गर्न दिन मङ्गलबार आदेश दिएको छ ।

तीन सदस्यीय इजलासले खानलाई आगामी दिनमा शिफा इन्टरनेसनल अस्पतालमा विशेषज्ञ चिकित्सक तथा उहाँका निजी चिकित्सकमध्ये एक फैसल सुल्तानसहितको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको हो ।

अदालतले जेल प्रशासनलाई खानलाई परिवारका सदस्यसँग साप्ताहिक भेटघाट तथा आफ्ना छोरासँग टेलिफोनमा कुराकानी गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ । खानको स्वास्थ्य अवस्था र निजी चिकित्सक तथा परिवारका सदस्यलाई भेट्न नदिइएको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।

खानका वकिल सलमान अक्रम राजाका अनुसार, स्वास्थ्य सेवामा पहुँच पाउनु उहाँको संवैधानिक अधिकार भएकाले अदालतले अस्पताल लैजान आदेश दिएको हो । उहाँले अस्पतालमा उपचारका क्रममा समर्थकलाई भीड नगर्न आग्रह गर्नुभएको छ ।

सम्भावित सुरक्षा खतराको सूचनापछि पाकिस्तानले यस वर्षको सुरुदेखि खानलाई राखिएको जेलमा आगन्तुकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि खानले अस्पताल स्थानान्तरण तथा निजी चिकित्सक, परिवार र वकिलसँग भेटघाटको अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिनुभको थियो ।

यसअघि आँखाको समस्याका कारण खानलाई पटकपटक सरकारी अस्पताल लगिएको थियो । गत जनवरीमा उहाँको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको परिवारले दाबी गरेको थियो भने सरकारले उक्त दाबी अस्वीकार गरेको थियो । पछि अधिकारीले उहाँको दृष्टिमा सुधार आएको बताएका थिए ।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बन्नुभएका खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सन् २०२३ देखि जेलमा हुनुहुन्छ । संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि सन् २०२२ अप्रिलमा उहाँ प्रधानमन्त्री पदबाट हट्नुभएको थियो ।

कानुनी समस्याका बाबजुद खान पाकिस्तानको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आउनुभएको र उहाँको समर्थनमा ठूलो जनमत रहेको छ ।  (रासस/एपी)