काठमाडौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबल खेलमा नेपालले आज (बिहिबार) दोस्रो खेल भारतविरुद्ध खेल्दैछ । आज समूह चरणको दोस्रो खेलमा नेपालले बलियो टिम भारतसंग खेल्न लागेको हो । नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेलसकेको छ भने भारतको आजको पहिलो खेल हो । पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो ।
सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको आजको खेल निकै संघर्षपुर्ण रहनेछ । नेपालले महिला भलिबलमा अबको बलियो टिम भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्य राखेको छ । यसअघि दुवै टोली नेपालमै भएको दक्षिण एसियाली महिला भलिबल प्रतियोगितामा भिडेका थिए ।
सो खेलमा भारतले नेपाललाई सहजै हराउँदै उपाधि जितेको थियो ।
दक्षिण एसियामा भारत र माल्दिभ्स महिला भलिबलमा राम्रा टिम मानिन्छन् । सोही कारण नेपालले साग क्षेत्रमा सधै कास्यमै चित्त बुझाउनु पर्दै आएको छ । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।