३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान, अफगानिस्तान सीमा क्षेत्रमा तनाव चुलियो



अ+ अ-

पाकिस्तानले आइतबार अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा व्यापक हवाई आक्रमण गरेपछि दुई देशबीचको तनाव थप चुलिएको छ।

इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा रहेका आतङ्कवादी समूहलाई लक्षित गरी सात स्थानमा कारबाही गरिएको जनाएको छ। तर काबुलले ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष सर्वसाधारण मारिएको दाबी गरेको छ।

रातभर सञ्चालन गरिएको उक्त आक्रमणलाई गत अक्टोबरमा सीमा क्षेत्रमा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाहीका रूपमा हेरिएको छ। त्यसबेला दुवै पक्षका ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। पछिल्लो घटनापछि सीमा क्षेत्रमा पुनः त्रास र असुरक्षा फैलिएको छ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तालिबान, उसका सहयोगी समूह र इस्लामिक स्टेटसँग सम्बद्ध तत्वहरूलाई लक्षित गरिएको उल्लेख गरिएको छ। पाकिस्तानले तालिबान नेतृत्वले बारम्बार आग्रह गरिँदा पनि पाकिस्तानविरुद्ध अफगान भूमिको प्रयोग गर्ने समूहविरुद्ध प्रभावकारी कारबाही गर्न नसकेको आरोप लगाएको छ।

यता, अफगानिस्तानको रक्षा मन्त्रालयले नान्गरहार र पक्तिका प्रान्तका मदरसा र आवासीय घरहरूमा आक्रमण हुँदा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिक मारिएको र घाइते भएको जनाएको छ। मन्त्रालयले पाकिस्तानी आक्रमणको “उचित र सुनियोजित जवाफ” दिइने चेतावनी दिएको छ।

नान्गरहारको बिहसुद जिल्लाबाट एएफपीका पत्रकारले दुर्गम पहाडी गाउँमा स्थानीय बासिन्दाहरू भग्नावशेष पन्छाउँदै शव खोजिरहेको दृश्य देखिएको बताएका छन्। उद्धारकर्मीहरूले बेलचा र अन्य उपकरण प्रयोग गरी ढलेका संरचनामुनि पुरिएका व्यक्तिलाई निकाल्ने प्रयास गरिरहेका थिए।

स्थानीय ३७ वर्षीय अमिन गुल अमिनले विस्फोटपछि बाँचेकाहरूले मद्दतका लागि चिच्याएको सुनिएको बताए। नान्गरहार प्रहरीका प्रवक्ता सैयद तैयब हम्मादका अनुसार मध्यरातदेखि सुरु भएको बमबारी तीन जिल्लासम्म फैलिएको थियो। एकै घरमा रहेका २३ सदस्य प्रभावित भएको र पाँच जनालाई जीवितै उद्धार गरिएको उनले जानकारी दिए।

सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता पुनः नियन्त्रणमा लिएयता दुई देशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ। अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार पाकिस्तानी सैन्य कारबाहीका कारण गत अक्टोबरदेखि डिसेम्बरसम्म ७० अफगान सर्वसाधारण मारिएका थिए।

कतार र टर्कीको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भए पनि बहुपक्षीय वार्ताबाट स्थायी समाधान निस्कन सकेको छैन। यसै महिनामा अफगानिस्तानले नियन्त्रणमा राखेका तीन पाकिस्तानी सैनिकको रिहाइमा साउदी अरेबियाले मध्यस्थता गरेको थियो। यद्यपि सम्बन्ध सुधारतर्फ ठोस प्रगति देखिएको छैन। भूमि सीमा महिनौँदेखि बन्द रहँदा दुवै देशका सर्वसाधारण प्रभावित भएका छन्।

दुई हप्ताअघि इस्लामाबादस्थित एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो भने १६० भन्दा बढी घाइते भएका थिए। सन् २००८ यता राजधानीमा भएको त्यो सबैभन्दा घातक आक्रमण मानिएको छ। इस्लामिक स्टेट समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको थियो।

हालको हवाई आक्रमणले सीमापार आतङ्कवाद, प्रत्युत्तर कारबाही र कूटनीतिक असफलताले सिर्जना गरेको द्वन्द्वको चक्रलाई अझ गहिरो बनाएको छ। दुवै पक्षबीच आरोप–प्रत्यारोप जारी रहँदा सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण नै यसको सबैभन्दा ठूलो मारमा परिरहेका छन्। AFP