२८ भाद्र २०८३, आईतवार
,
Latest
हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह



अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले जाम्बियामा निर्वाचन अघि र पछि विपक्षी सदस्यको गिरफ्तारी तथा हिरासत सम्बन्धी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘मनमानी’ गिरफ्तारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

“सम्बन्धित निकायले मानिसलाई मनमानी ढङ्गले पक्राउ गर्न बन्द गर्नुपर्छ र हिरासतमा लिइएका सबै व्यक्तिको कानुनी अधिकारको पूर्ण सम्मान गर्नुपर्छ,” टर्कले बुधबार जारी गरेको विज्ञप्तिमा भन्नुभएको छ ।

जाम्बियाको निर्वाचन आयोगका अनुसार अगस्ट १३ मा भएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति हाकाइन्डे हिचिलेमा करिब ६० प्रतिशत मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी मुख्य विपक्षी दल एनआरपीयुपीका नेता तथा पूर्वमन्त्री ब्रायन मुन्दुबिले करिब ३८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि विपक्षीले धम्की र विभिन्न प्रतिबन्धका कारण आफ्नो चुनावी अभियान प्रभावित भएको बताएका छन् । युरोपेली सङ्घलगायत अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकले पनि निर्वाचन प्रक्रियालाई लिएर यस्तै चिन्ता व्यक्त गरेका छन् ।

मुख्य विपक्षी गठबन्धनका केही सदस्यलाई प्रहरीले अझै हिरासतमा राखेको बताइएको छ । उनीहरूलाई मिलिसिया वा विद्रोही गतिविधिमा सङ्लग्न भएको आरोपमा गत साता पक्राउ गरिएको विपक्षी दलले जनाएको छ । विपक्षी नेता मुन्दुबिले पनि आफूविरुद्धको धम्कीका कारण अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाको संरक्षणमा सुरक्षित स्थानमा रहेको एएफपीलाई बताउनुभयो ।

टर्कले सबै गिरफ्तारी र त्यसपछिका कानुनी कारबाही अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड तथा जाम्बियाको घरेलु कानुनअनुरूप हुनुपर्नेमा जोड दिएका छन् । उहाँले हिरासतमा लिइएका व्यक्तिलाई पक्राउको कारण र आरोपबारे तत्काल जानकारी दिन, कानुनी प्रतिनिधिको पहुँच तथा परिवारसँग सम्पर्कको सुविधा उपलब्ध गराउन र मानवीय व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

साथै, उनीहरूलाई यथाशीघ्र न्यायाधीशसमक्ष उपस्थित गराइनुपर्ने उहाँले बताउनुभयो । निर्वाचनपछिको संवेदनशील अवस्थामा मानव अधिकारको सम्मान गर्न तथा निर्वाचनसँग सम्बन्धित गुनासो शान्तिपूर्ण र कानुनी प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा टर्कले जोड दिनुभएको छ ।

हिचिलेमा पहिलो कार्यकालमा आर्थिक सुधार तथा जाम्बियाको ऋण पुनः संरचनाका लागि प्रशंसा पाए पनि विपक्षी दल र नागरिक समाजले सरकारमाथि असहमति तथा विरोधका आवाज दबाएको आरोप लगाउँदै आएका छन् ।

निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गरेको सात दिनभित्र हिचिलेमा दोस्रो कार्यकालका लागि शपथ लिने व्यवस्था छ । यद्यपि, विपक्षी दलले निर्वाचन परिणाम विरुद्ध कानुनी चुनौती दिने तयारी गरेकाले शपथ ग्रहणमा ढिलाइ हुन सक्ने बताइएको छ । रासस/एएफपी