१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण



अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ ।

बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् ।

डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो पारिएको छ ।

खेलमैदान निर्माण भएपछि बस्तीमाथिको पाखोबाट आउने बाढी रोकथामका साथै स्थानीय बालबालिका र युवायुवतीलाई खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष हिक्मत शेरचनले बताउनुभयो ।

“खेलमैदानको संरचनाले बराहपाखोबाट आउने बाढीलाई सिधै मङ्गलाघाटको बस्तीमा आउन रोकेको छ”, उहाँले भन्नुभयो, “खेलमैदान नहुँदा बालबालिका र युवायुवती सडकमै खेल्दा हुने दुर्घटनाको जोखिम पनि घटेको छ ।”

यो खेलमैदानमा भलिबल, बास्केटबल, ब्याडमिन्टन र तारोखेल सञ्चालन गर्न सकिन्छ । यसअघि खेलमैदान अभावमा बालबालिका सडकमै खेल्दा दुर्घटनाको जोखिम थियो ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको रु १३ लाख सहयोगमा उपभोक्ता समितिले बेनी–दरवाङ सडकदेखि खेलमैदान पुग्ने पैदलमार्ग, तारजाली, घेराबार र प्यारापिट बनाएका छन् ।

यसअघिका वर्षमा पनि वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखको हाराहारीमा बजेट विनियोजन गरेर खेलमैदान सम्याउने काम गरिँदै आएको थियो । मङ्गलाघाटका दीपबहादुर शेरचन र निगम राजभण्डारीले मूल सडकदेखि खेलमैदान जाने बाटोमा पर्ने जग्गा उपलब्ध गराउनुभएको छ ।

जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले मङ्गलाघाटको खेलमैदानलाई विशेष गरेर भलिबल खेल अभ्यासका लागि प्रयोग गर्न थालिएको बताउनुभयो ।

“खुलामञ्च खेलमैदानमा फुटबल र क्रिकेटसँगै विभिन्न सभा, समारोह, मेला महोत्सव हुने हुँदा खेलकुद गतिविधि सञ्चालन गर्न वैकल्पिक ठाउँको खोजीमा थियौँ”, उहाँले भन्नुभयो, “बेनीमा भलिबलको छुट्टै खेलमैदान नहुँदासम्मका लागि अस्थायी र वैकल्पिक हिसाबले मङ्गलाघाटको खेलमैदान प्रयोग गर्न थालेका छौँ ।”