१८ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो



अ+ अ-

काठमाडौँ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपद्मा परी हालसम्म १ हजार २५२ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्मा भएको मानवीय क्षतिको पछिल्लो अवस्था जानकारी गराएको हो ।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३५५ जनाको मृत्यु भएको छ । चितवनमा कतिपय अवस्थामा मानव अङ्ग मात्र फेला परेको जनाइएको छ । यस्तै, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परेका ११ हजार ९९३ जनालाई सुरक्षाकर्मीले जीवितै उद्धार गरेका छन् । नेपाली सेनाले हवाई उडानमार्फत ४ हजार ९१ नेपाली र २७३ विदेशी गरी कुल ४ हजार ३६४ जनाको उद्धार गरेको छ । उद्धारका क्रममा सेनाले ७१५ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरेका छन् ।

बाढीमा परी घाइते भएका ५ हजार १३५ जनाको उपचार गरिएको छ । तीमध्ये ३०१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । हाल नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका होल्डिङ सेन्टरमा ३ हजार ९४८ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ स्थानीय बासिन्दा छन् । यस्तै, ५८३ विदेशी पर्यटक, जलविद्युत् आयोजनाका करिब ९०० कर्मचारी, ४५ सैनिक, २५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरीसहित अन्य कर्मचारी तथा जनप्रतिनिधिसमेत बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ ।

खोज तथा उद्धारका लागि देशभर २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन् ।

विपद्का कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आएका छन् ।

प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ ।

सरकारले प्रभावित जिल्ला तथा स्थानीय तहका लागि तत्काल नगद राहतसमेत उपलब्ध गराएको छ । रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको छ । यस्तै, प्रभावित १५ स्थानीय तहलाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

काठमाडौँबाट ४५ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हवाई मार्गबाट पनि राहत सामग्री ढुवानी भइरहेको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १३० पटक हवाई उडान गरी राहत सामग्री पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक, उद्धार गरिएका व्यक्ति तथा उपचाररत व्यक्तिको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिरहेको जनाएको छ ।




भर्खरै