६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याउखेतीमा किसानको आकर्षण बढ्दो



अ+ अ-

काठमाडौँ। च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आउनुभएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृषक चित्रराज तिमिल्सिनाले च्याउखेतीबाटै वार्षिक रु १२ लाख आम्दानी गर्नुहुन्छ ।

तिमिल्सिनाले देशभित्रै च्याउखेतीबाट खर्च कटाएर मासिक रु एक लाख आम्दानी गरी ‘देशमा केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने युवा पुस्ताका लागि ‘जाँगर भए देशभित्रै गर्न सकिन्छ’ भन्ने उदाहरण दिनुभएको छ ।

आफ्नै लगानीमा करिब १५ रोपनी जग्गामा च्याउ खेती गर्दै आउनुभएका उहाँले चार वटा फार्ममा कन्ये, गोब्रे र सिताकेलगायतका च्याउ खेती गर्दै आउनुभएको छ । उहाँले अध्ययन गर्दै गरेका आफ्ना छोरा÷छोरीलाई पनि च्याउखेतीमै संलग्न गराउनुभएको छ । उहाँले भन्नुभयो, “अमेरिका र युरोपका विभिन्न देशमा गएका युवाभन्दा हामी सक्षम छौँ, उनीहरु देश फर्किएर के गर्ने होला ? भनेर काम खोज्छन, हामीसँग त्यो समस्या छैन ।”

च्याउ उत्पादक किसान सङ्घ, नेपालका अनुसार हाल च्याउखेतीबाट करिब रु २० अर्ब बराबरको आम्दानी हुने गरेको छ । गोधे च्याउ, कन्ये च्याउ र राजा च्याउ नेपालका लागि आवश्यक उत्पादन नेपाली किसानबाट हुने भएकाले च्याउमा नेपाल आत्मनिर्भर भएको किसानहरुको भनाइ छ । यस क्षेत्रमा ३० हजार नेपालीले रोजगारी पाएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी आनन्द जोशीले च्याउ खेतीको विकास र प्रवर्द्धन गर्ने विषयमा रणनीति वा कार्ययोजना बनाउने विषयमा छलफल भए पनि राष्ट्रिय च्याउ नीति नै बनाउनेबारे भने छलफल नभएको बताउनुभयो ।

नेपालमा म्याजिक मसरुम भनिने जङ्गली च्याउदेखि सजिलै घरमा उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । प्रतिकिलो भारु ५८ हजारमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । नेपालमा च्याउखेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ ।

कृषि विभागअन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी पूर्णिमा क्षेत्रीले केन्द्रले च्याउसम्बन्धी प्रयोगशाला र च्याउमा हुनुपर्ने न्यूनतम मापदण्ड तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । केन्द्रले खानयोग्य जङ्गली च्याउबारे पनि अध्ययन सुरु गरेको जनाएको छ । रासस