१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के ग्लेन म्याक्सवेलको आईपीएल करियर सकिएको हो ?



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले मंगलबार यो पुष्टि गरेका छन् कि उनी आईपीएल २०२६ को मिनी–अक्सनमा सहभागी हुनेछैनन्।

उनको यस निर्णयले संकेत दिएको छ सम्भवतः उनले अब इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो अन्तिम खेल खेलेका छन्। म्याक्सवेलभन्दा अघि आन्द्रे रसेल र फाफ डु प्लेसिस जस्ता दिग्गजहरू पनि यसपटक अक्सनबाट हटिसकेका छन्। यस वर्षको मिनी–अक्सन डिसेम्बर १६ मा अबु धाबीमा हुने छ।

सामाजिक सञ्जालमार्फत निर्णयको घोषणा

३७ वर्षीय म्याक्सवेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै भने यो निर्णय सजिलो थिएन, तर धेरै सोच–विचारपछि उनले यो कदम चालेका हुन्।

उनले लेखेका छन्– ‘आईपीएलमा बिताएको धेरै यादगार सिजनहरूपछि मैले यस वर्ष आफ्नो नाम अक्सनमा नहाल्ने निर्णय गरेको छु। यो ठूलो निर्णय हो, र म यसलाई निकै कृतज्ञतापूर्वक लिन चाहन्छु, किनकि यस लिगले मलाई धेरै चिज दिएको छ।’ उनले आफ्नो पोस्टमा यो संकेत पनि दिए कि उनको आईपीएल यात्रा अब समाप्त हुन सक्छ।

म्याक्सवेलको भावुक सन्देश

पोस्टमा म्याक्सवेलले आईपीएललाई धन्यवाद दिँदै भने, ‘आईपीएलले मलाई केवल राम्रो खेलाडी मात्र बनाएन, यसले मलाई राम्रो मानिस बन्न पनि मद्दत गर्‍यो। यो लिगमा मैले विश्व–स्तरीय खेलाडीहरूसँग खेल्ने अवसर पाएँ, उत्कृष्ट टिमहरूको हिस्सा बनेँ र भारतीय दर्शकहरूको ऊर्जा सधैं मेरो प्रेरणाको स्रोत रह्यो।’ उनले अन्त्यमा लेखे, ‘यहाँका यादहरू, चुनौतीहरू र भारतमा पाएको ऊर्जा, सधैं मेरो मनमा रहनेछ। धन्यवाद, छिटै भेट्ने आशा राख्छु।’

चोट र फर्मले निर्णय कठिन बनायो

अघिल्लो सिजन म्याक्सवेलले पंजाब किङ्सबाट खेलेका थिए। कप्तान श्रेयस अय्यर र कोच रिकी पोन्टिङको नेतृत्वमा उनले राम्रो सुरुआत गरेका थिए तर पछि औँलाको चोटका कारण सिजनबाट बाहिरिनुपर्‍यो।

पंजाबले उनलाई ४.२ करोड रुपैयाँमा किनेको थियो। तर उनले ६ इनिङ्समा जम्मा ४८ रन मात्रै बनाउन सके। निराशाजनक प्रदर्शनका कारण टिम व्यवस्थापनले उनलाई मुख्यतः बलरको भूमिकामा प्रयोग गर्‍यो।

म्याक्सवेलले अक्सनमा सहभागी नहुनुको कारण स्पष्ट रूपमा भनेनन्, तर प्रायः ठूला टिमहरू उनको राम्रो प्रदर्शनको प्रतीक्षाबाट थाकिसकेका छन्। महँगो मूल्यमा बिक्ने गरे पनि धेरै सिजनमा उनी अपेक्षित प्रदर्शन गर्न सकेनन्। तथ्यांक विश्लेषणले पनि देखाएको छ कि उनलाई आफ्नो क्षमताभन्दा बढी मूल्य प्रदान हुँदै आएको थियो।

उतार–चढावले भरिएको आईपीएल यात्रा

म्याक्सवेलको आईपीएल करियर धेरै उतार–चढावपूर्ण रह्यो। उनलाई पहिलोपटक २०१२ मा दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स)ले किनेको थियो। २०१४ मा किङ्स इलेभेन पंजाब (हाल पंजाब किङ्स)का लागि उनले धमाकेदार प्रदर्शन गरे र त्यो सिजनका सबैभन्दा खतरनाक ब्याट्सम्यानमध्ये परे।

त्यसपछि धेरै सिजनमा उनको प्रदर्शन मिश्रित रह्यो—कहिले दमदार ब्याटिङले टिम जिताए, कहिले निराशाजनक खेल देखाए। उनको आक्रमक खेल, अनौठा शट र पार्ट–टाइम स्पिनले उनलाई टी–२० क्रिकेटमा एउटा छुट्टै पहिचान दियो।

म्याक्सवेलका लागि २०१४, २०२१ र २०२३ वर्ष ब्याटिङदेखि उत्कृष्ट सिजन रहे। २०१४ मा उनले ५५२ रन बनाए र पंजाबलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेले। २०२१ मा उनले ५१३ रन बनाए भने २०२३ मा ४०० रन जोडे।

के आइपीएलमा पुनः फर्किन सक्छन् ?

यद्यपि म्याक्सवेलले स्पष्ट रूपमा संन्यासको घोषणा गरेका छैनन्, तर उनको ‘सी यू सून’ सन्देशले भविष्यमा मेन्टर, कोच वा टिम एम्बेसेडरको रूपमा आईपीएलमा फर्किन सक्ने संकेत दिन्छ।

म्याक्सवेलको आईपीएल यात्रा समाप्तिको दिशामा गएजस्तो देखिए पनि उनले आफ्नो खेलले दर्शकहरूलाई निकै मनोरञ्जन दिएका छन्। जसरी आन्द्रे रसेल र फाफ डु प्लेसिसले लिग छोँड्दा आफ्नो एक विरासत छाडे, म्याक्सवेलको प्रभाव पनि त्यसभन्दा कम छैन।