काठमाडौं । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको उखुको भुक्तानी दसैँअघि नै पाउने भएका छन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले भुक्तानीका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अघि बढाइसकेको जनाएको छ । बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले एक–दुई दिनभित्र प्रक्रिया पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको जानकारी दिए ।
सचिव मिश्रका अनुसार किसानलाई भुक्तानी गर्ने निर्णय यसअघि नै मन्त्रीस्तरबाट भइसकेको छ । भुक्तानीसम्बन्धी कार्यविधि समेत प्राप्त भइसकेकाले अब रकम निकासा गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए ।

असारमै किसानलाई भुक्तानी गर्ने तयारी भए पनि केही प्रशासनिक तथा प्राविधिक प्रक्रियाका कारण ढिलाइ भएको उनको भनाइ थियो । भुक्तानीमा भएको ढिलाइप्रति किसानले गर्दै आएको गुनासो जायज रहेको स्वीकार गर्दै सचिव मिश्रले मन्त्रालयले विषयलाई उच्च प्राथमिकतामा राखेर निरन्तर पहल गरिरहेको बताए ।
उनले दसैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको उल्लेख गर्दै भुक्तानी प्रक्रियामा अब थप ढिलाइ नहुने विश्वास दिलाए ।
बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि आफ्नो बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आएका छन् । मन्त्रालयले पटक–पटक भुक्तानीको प्रक्रिया अघि बढाउने बताए पनि कार्यान्वयनमा भएको ढिलाइका कारण किसान समस्यामा पर्दै आएका थिए ।
अब मन्त्रालयले तोकेको समयमै रकम निकासा हुन्छ कि हुँदैन भन्ने विषय किसानका लागि चासोको विषय बनेको छ ।







