काठमाडाैँ । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै सडकमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको छ।
रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त सडकखण्डमा अझै ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी रहेको छ। सडक खुलेपछि बाक्लो सवारी आवतजावत हुन थालेकाले निर्माण कार्य प्रभावित भइरहेको भन्दै निर्माण पक्षले आवश्यक सहजीकरण गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकमा बेलिब्रिज जडानको कामसमेत अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ।
यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण पनि अन्तिम चरणमा पुगेको छ। आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको जनाइएको छ।







