२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्य अर्को वर्षदेखि

जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्य अर्को वर्षदेखि
अ अ+ अ-

जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ ।

जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पामात्र नभई कर्णालीकै भविश्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए । सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँमा आयोजनाको काम अघि बढेको र त्यसका लागि कार्यकारी प्रमुख सञ्जय सापकोटा लागिपरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो । 

जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) का लागि मुआब्जा वितरणदेखि स्थानीयवासीसँगको सहकार्य भइरहेको अध्यक्ष शाहीले बताउनुभयो । जगदुल्ला  हाइड्रोपावर कम्पनीसँगै काम थालिएका आयोजनाको काम जटिल भए पनि बाधा अड्चनबिना नै अहिलेसम्म काम अघि बढेको छ । 

मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत् उत्पादन गृह निर्माण हुनेछ भने, जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य ड्याम रहनेछ । नेपालको पानी जनताको लगानीअन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब रु २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक रु एक करोड २० लाख आम्दानी गर्ने अपेक्षा लिइएको छ । राज्यलाई वार्षिक रु २९ करोड आयोजनाले राजश्व उपलब्ध गराउने लक्ष्य रहेको छ । 

यसरी बन्दैछ आयोजना

उज्यालो नेपाल अभियानमार्फत राज्यलाई आत्मनिर्भर समुन्नत र समृद्ध बनाउन तथा मुलुकको ऊर्जा विकासमा टेवा पु¥याउन विधिवत्रुपमा कम्पनी ऐनअनुसार २०७४ जेठ १६ गते यस कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरी वातावरणीय प्रभाव मूल्याङ्कन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइ पनि गरिसकेको छ। । 

आयोजनाको विद्युत्गृहस्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलकोसमेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङको ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माणको कम समेत सम्पन्न गरिसकेको छ । 
    
जटिल भूगोल र हेलिकप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यकपर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ । आयोजनाले उत्पादित विद्युत् बिक्रीका लागि गरिने विद्युत् खरिद बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल तथा प्रस्तुतीकरण गरी सम्झौताको अन्तिम चरणमा रहेकाले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण सुरु गर्ने लक्ष्य रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताउनुभयो ।  

आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुुपर्ने बाध्यता छ । डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न गरिसकेको र अहिले निर्माण गरिरहेको सडक पूर्वाधारको काममा पनि उल्लेख्य प्रगति देखिएको छ । 
    
प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै जिल्लाको गौरवसँग मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माणका लागि सबैले सहयोग आवश्यक रहेको बताउनुभयो । 

यो आयोजनाबाट उत्पादन गरिएको विद्युत् रुकुमपश्चिमको बाँफीकोटमा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सबस्टेशनमा ल्याएर जोडिनेछ । जगदुल्ला जलविद्युत् आयोजनाले वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेकाले यथाशीघ्र बोलपत्र आह्वान गरी मुख्य परामर्शदाता तथा ठेकेदार छनोट प्रक्रियाका साथ निर्माण कार्य सुरु गर्ने तयारी आयोजनाको छ । कर्णाली प्रदेशकै सामरिक महत्वको आयोजनाका रुपमा यसलाई हेरिएको छ । 

आयोजना निर्माणको लागत घट्यो

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार आयोजना निर्माणको कुल लागत रु २० अर्ब अनुमान गरिएको छ । यसअघि भने यसको लागत रु २३ अर्ब अनुमान गरिएको आयोजनाका कार्यकारी प्रमुख सापकोटाले जानकारी दिनुभयो  । करिब ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । कुल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । 

जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । यहाँ करिब ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् ।  

आयोजना निर्माणका लागि आवश्यक विद्युत्का निम्ति इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट दुई मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो । 

जाजरकोटको ताँसुगाडमा पाँच मेगावाट विद्युत् उत्पादन गर्ने भनी काम सुरु भए पनि त्यो आयोजनाको गति कमजोर देखिएपछि जगदुल्ला जलविद्युत् आयोजनाले जगदुल्लाको फेदी र काइगाउँको स्थानीय खोलामा सम्भाव्यता अध्ययन गरिरहेको छ । 

त्यस्तै रु तीन करोड लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडकको काम सुरु भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण तोकिएको समयमा सम्पन्न हुन मुस्किल देखिएको छ । काइगाउँबाट मुड्केचुलासम्म जोड्ने सडकको काम सुरु गरिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।

त्रिवेणीदेखि आयोजनाको बाँधस्थल हुरिकोटसम्म जानका लागि आवश्यक सबै पुल आयोजनाले नै निर्माण गर्ने र सडकको स्तरोन्नतिसमेत आयोजनाले नै गर्नेछ । यहीभित्र १० वटा बेलिब्रिज पनि आयोजनाले बनाउनुपर्ने भएको छ । 

त्यस्तै त्रिवेणीमा पुल निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीसँग सम्झौतासमेत भई डिजाइनको काम सकेर वातारणीय प्रभावको काम भइरहेको छ । अबको दुई वर्षभित्र सो पुल निर्माण कार्य सम्पन्न हुनेछ । रासस