काठमाडौँ । सभामुख र राष्ट्रिय सभा अध्यक्षसहित प्रदेश सभामुखहरुको छलफल भएको छ ।
शुक्रवार सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सात वटै प्रदेशका प्रदेश सभाका सभामुखहरुको छलफल भएको हो ।
छलफलमा बोल्दै सभामुख देवराज घिमिरेले देशको पछिल्लो स्थिति, संसदको अवस्थाका बारेमा छलफल भएको बताउनु भयो । उहाँले जेन जी आन्दोलनपछि देशमा उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताउनु भयो । यसै सन्दर्भलाई लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिइसकेको र पौडेलसँगको छलफलपछि आवश्यक परे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्न सकिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘खासगरीकन देशको सात वटै प्रदेशको र संघको बारेमा सभाको स्थितिका बारेमा भेटघाट गरेका हौँ । राष्ट्रपतिसँग समय लिएका छौँ । उहाँसँग भेट्नेछौँ । सरसल्लाहमा प्रधानमन्त्रीसँग भेट्ने कुरा भयो भने भेट्न सक्छौँ । भोलिका लागि समय मिलाउँ । प्रधानमन्त्रीलाई पनि भेट्दा राम्रै हुन्छ ।’
जेन जी पुस्ताको गत भदौ २३ र २४ गतेको आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । नेकपा एमालेले प्रतिनिधि सभाको पुनःस्थापना हुनुपर्ने बताउँदै आएको अवस्थामा अन्य कम्युनिष्ट पार्टीहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् । नेपाली काँग्रेसले अहिलेसम्म कुनै निर्णय लिइसकेको छ । यद्यपि संसद विघटन असंवैधानिक रहेको निष्कर्ष काँग्रेसको छ ।










