काठमाडौँ । नेपाली यु–१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले एएफसी यु–१७ महिला एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका छन् ।
आगामी अक्टोबर १३ देखि थाइल्याण्डमा एएफसी यु–१७ महिला एशियन कपमा छनोट शुरु हुँदैछ । सोही छनोटका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक श्रेष्ठले घरेलु टोलीलाई हराउँदै एशियन कपमा छनोट हुने लक्ष्य रहेको बताएका हुन् । समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्याण्डसँग प्रतिष्पर्धा गर्ने तालिका छ । प्रशिक्षक श्रेष्ठले टोली सन्तुलित बनेको र फरवार्डले पाएका अवसरहरू सदुपयोग गर्नसके जित निकाल्ने आशा व्यक्त गरेका छन् । साफ लगत्तै टोलीले तयारी गरेको उल्लेख गर्दै साफका कमिकजोरी सुधार गर्ने अपेक्षा गरेका छन् । उनले छनोट जतिसक्दो उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
प्रशिक्षक श्रेष्ठले डिफेन्स र गोलकिपरमा ध्यान दिएर तयारी गरेको उल्लेख गरे । छनोट हुने दबाब भएपनि दुवै टोलीसँग राम्रो प्रदर्शन गर्ने प्रशिक्षकको विश्वास छ । एन्फाका महासचिव किरण राईले भनेजस्तै यो टोलीलाई डेपलभमेन्ट टोलीका रूपमा हेर्नु सुखद् लागेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । एन्फाले तयारी गरेअनुरूप यो टोलीले लक्ष्यअनुरूप नतिजा दिने उनको विश्वास छ । सिंगल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एसियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ । गत भदौ १६ गते भूटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो ।
च्याम्पियनसिपलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुटेको थियो । नेपालका लागि थाइल्यान्ड र तुर्केमिनिस्तान तुलनात्मक रूपमा बलिया टोली हुन् । तर नेपाली महिला टोली लामो समयदेखि मैदानमा तयारीबाट छनोट हुने आत्मविश्वासमा छ । दुवै टोलीलाई हराउँदै छनोट हुने लक्ष्यमा किशोर टोली छ । यो टोली दशैंमा पनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त थियो । प्रशिक्षक श्रेष्ठले डिफेन्स र मिडफिल्डमा सुधार गरिएको उल्लेख गरेका छन् । साफमा ६ वटा खेलले खेलाडीमा अनभुवी पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ ।
अहिले टोलीमा साफ खेलेका तीन खेलाडीबाहेक सबै रहेका प्रशिक्षकले उल्लेख गरे । केही खेलाडीलाई नयाँ पोजिसमा पनि तयारी गराइएको र यसका लागि उनीहरूमा आत्मविश्वास पनि बढेको प्रशिक्षक श्रेष्ठको भनाइ छ । आफ्नो टोलीमा धेरे राम्रो सुधार भएको उनको विश्वास छ ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि २३ सदस्यीय अन्तिम टोली छनोट गरेका थिए । उक्त टोलीले गत असोज १२ गतेदेखि बन्द प्रशिक्षणमा रह्यो । मिडफिल्डर भूमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो । गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो । कप्तान भूमिकाले आफ्नो टोलीको मनोबल उच्च रहेको र प्रशिक्षकको योजनाअनुरूप खेलाडीले तयारी गरेको बताइन् । टिम वर्कका साथ सबै खेलाडीले खेलेको र टोलीको लक्ष्य नै छनोट हुने रहेको कप्तान भूमिकाको विश्वास छ । खेलाडीले एकअर्कालाई प्रोत्साहित गर्दै खेलेको कप्तान भूमिका बताउँछिन् ।
नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन् । गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ । आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन् । पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए । त्यसपछि गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए । तर, भुटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन् ।
अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले साफ सकिएपछि खेलाडीको मनोबल बुझ्दा उनीहरू आतिएको महसुस भएको बताए । विश्वकप नै जितेको टोलीले ५/६ गोल खाएको अवस्था पनि रहेको उल्लेख गर्दै महासचिवले अफ्ठ्यारो स्थितिमा पनि स्थिर मानसिकता राख्नै नै खेलाडीको उद्देश्य हुनुपर्ने बताए । फुटबल समर्थकले सदैव राम्रो नतिजा अपेक्षा गर्नु सही भएको उनको भनाइ छ । तर खेलाडीले बाहिर पक्ष ध्यान नदिई आफ्नो उत्कृष्ट प्रदर्शन दिनुपर्ने एन्फाका महासचिव राई बताउँछन् । जित्दा मातिने र हारमा हातिन नहुने उनको भनाइ छ । सयौं खेलाडीबाट छानिकाहरू धेरै उच्च मनोबलका साथ खेल्नुपर्ने उनले औंल्याएका छन् ।
यो च्याम्पियनसिप खेलाडीहरूको विकासकै लागि आयोजना भएको र त्यसैअनुरूप आफ्नो राम्रा प्रदर्शन गर्न दिने गरी खेल्न उनको आग्रह छ । मानसिक रूपमा दबाबमा नरही निडरतापूर्वक खेल्न एन्फाका महासचिव राईले बताएका छन् ।
नेपाली यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन् । डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक छन् । मिडफिल्डरमा रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भूमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट भए । फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए । शुक्रवार आयोजित एक कार्यक्रमका बीच एन्फाका अध्यक्ष पञ्कज विक्रम नेम्बाङ र महासचिव किरण राईलगायतले नेपाली टोलीको बिदाइ गरेका थिए । टोली आजै थाइल्याण्ड प्रस्थान गरेको छ ।









