३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति

फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
अ+ अ-

सर्वप्रथम, जननेता मदन भण्डारीको विचारसँग आवद्ध विद्यार्थीहरूको संस्थाको रूपमा रहेको मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरुमले मुलुकका महत्त्वपूर्ण समसामयिक विषयहरूमा यस प्रकारको छलफल कार्यक्रम आयोजना गर्नुभएकोमा मलाई अत्यन्त खुसी लागेको छ । यस कार्यक्रममा सहभागी भई युवा विद्यार्थीहरूसँग साक्षात्कार गर्ने अवसर प्रदान गर्नुभएकोमा म आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु ।

आज म यहाँ जननेता मदन भण्डारीको जीवन, विचार, संघर्ष र राजनीतिक योगदानलाई नजिकबाट बुझ्ने व्यक्तिका रूपमा पनि उपस्थित भएको छु । त्यसैले आजको यस युवा संवाद कार्यक्रमलाई नयाँ पुस्ताले आफ्ना जिज्ञासाहरू राख्ने, अनुभवहरू सुन्ने र आपसमा विचार आदान–प्रदान गर्दै आफ्नो सामाजिक तथा राजनीतिक यात्राका लागि केही दिशा पहिल्याउने अवसरका रूपमा लिएको छु ।
मदन भण्डारीलाई सम्झनु भनेको उहाँको नाम र योगदानको स्मरणमा मात्र सीमित हुनु होइन । उहाँको जीवन, विचार र राजनीतिक यात्राबाट प्रेरणा लिँदै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता तथा चुनौतीलाई बुझ्नु, त्यसबारे आफ्ना जिज्ञासा र विचार राख्नु र भविष्यको बाटो पहिल्याउनु नै उहाँप्रतिको सार्थक सम्मान हो ।

मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवाद (जबज)को अवधारणा अघि सार्नुभयो । उहाँले लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी जनताको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, सामाजिक न्याय र जनताको सहभागितासँग जोडेर हेर्नुभयो ।

आज समय बदलिएको छ । समाज बदलिएको छ । प्रविधिले हाम्रो जीवन र राजनीतिक चेतनालाई नै परिवर्तन गरिरहेको छ । युवाको सोच, आकांक्षा र सम्भावनाहरू पनि फराकिला भएका छन् । त्यसैले आजको पुस्ताले मदन भण्डारीका विचारलाई जस्ताको तस्तै दोहोर्‍याउनेभन्दा त्यसको मूल मर्मलाई आत्मसात् गर्दै आजको बदलिँदो समय र नयाँ पुस्ताका आवश्यकता र सम्भावनाअनुसार अघि बढ्ने बाटो खोज्नुपर्छ ।

आज युवाहरूका अगाडि अनेकौँ जिज्ञासा, अपेक्षा र सम्भावनाहरू छन् । हाम्रो लोकतन्त्रलाई अझ प्रभावकारी र जनमुखी कसरी बनाउने? राज्यका संस्थाहरूलाई अझ जवाफदेही र सक्षम कसरी बनाउने? राजनीतिक दल र नेतृत्वमा युवाहरूको विश्वास र सहभागिता कसरी बढाउने? शिक्षा र रोजगारीका अवसरलाई कसरी विस्तार गर्ने? युवाहरूलाई स्वदेशमै आफ्नो भविष्य निर्माण गर्ने वातावरण कसरी बनाउने? सामाजिक तथा आर्थिक समानता कसरी अझ सुदृढ गर्ने? प्रविधि र सामाजिक सञ्जाललाई लोकतन्त्र, सूचना र नागरिक सहभागिताको माध्यमका रूपमा कसरी अझ प्रभावकारी बनाउने? र सबैभन्दा महत्वपूर्ण कुरा, हामीले चाहेको समाज र राज्य कस्तो बनाउने?

यी विषयमा खुला मनले सोच्ने, अध्ययन गर्ने र आपसमा विचार आदान–प्रदान गर्ने आवश्यकता छ । कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईँहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुहोस्, आफ्ना विचार व्यक्त गर्नुस्, अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुस् । लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ ।

आजको युवा पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचनासम्पन्न छ । तर सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन । त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजका युवाका लागि अत्यन्त महत्वपूर्ण छ ।

राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो ।

मदन भण्डारीको राजनीतिक यात्राबाट हामीले एउटा महत्वपूर्ण कुरा सिक्न सक्छौँ, राजनीति जनताबाट अलग भएर गर्न सकिँदैन । उहाँले जनताको भावना, आकांक्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गर्नुभयो । आज तपाईंहरूको पुस्ताले पनि आफ्नो समयका जनताको भावना, आकांक्षा र आवश्यकतालाई बुझ्दै देश र समाजलाई अघि बढाउने आफ्नो बाटो पहिल्याउन आवश्यक छ ।

कुनै पनि विचारधारा समयसँग संवाद गर्दै अघि बढ्न सकेन भने त्यसको सान्दर्भिकता कमजोर हुँदै जान्छ । त्यसैले मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरुमको जिम्मेवारी पनि महत्वपूर्ण छ । तपाईंहरूले मदन भण्डारीको जीवन, विचार र योगदानलाई गहिरोसँग अध्ययन र मनन गर्दै त्यसको मूल मर्मलाई आजको समाज र समयसँग जोडेर नयाँ पुस्ताका लागि आफ्नो बाटो पहिल्याउनुपर्छ ।
मलाई लाग्छ, तपाईँहरूको संस्थाले आगामी दिनमा यस्ता कार्यक्रममार्फत नेपालको लोकतान्त्रिक आन्दोलन, मदन भण्डारीको राजनीतिक योगदान, जनताको बहुदलीय जनवाद र आजको युवा पुस्ताका जिज्ञासा, आकांक्षा र आवश्यकताबीच अझ गहिरो संवाद गराउन सक्छ । यसो गर्न सकियो भने यो मञ्च युवा पुस्तामा लोकतान्त्रिक चेतना, वैचारिक अध्ययन र रचनात्मक संवादको संस्कृति विकास गर्ने महत्वपूर्ण थलो बन्न सक्छ ।

अर्को कुरा पनि म विशेष रूपमा भन्न चाहन्छु । विचारप्रतिको निष्ठा भनेको त्यसलाई केवल स्वीकार गर्नु मात्र होइन, त्यसलाई बुझ्नु, मनन गर्नु, समयसँग जोडेर हेर्नु र व्यवहारमा उतार्नु पनि हो ।

विचारलाई जीवन्त राख्ने संस्कार अध्ययन, जिज्ञासा, संवाद र आत्मसमीक्षाबाट विकास हुन्छ । तपाईंहरूले यो संस्कारलाई आफ्नो राजनीतिक तथा सामाजिक जीवनको आधार बनाउन सक्नुभयो भने, त्यो नै मदन भण्डारीको विचार र योगदानप्रतिको सबैभन्दा सार्थक सम्मान हुनेछ ।

आज देशमा परिवर्तनका धेरै अपेक्षा छन् । युवा पुस्तामा ऊर्जा छ, नयाँ सोच छ र केही नयाँ गर्ने हुटहुटी छ । यही ऊर्जा, सोच र उत्साहलाई देश र समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्न आवश्यक छ । आफ्ना आकांक्षालाई सिर्जनशील प्रयासमा बदल्दै सुधारका सम्भावना खोज्न र रचनात्मक परिवर्तनमा योगदान गर्न तपाईँहरू अघि बढ्नुपर्छ ।

म तपाईंहरूलाई यही भन्न चाहन्छु कि, देशको भविष्य अरू कसैले बनाइदिने होइन; तपाईंहरूकै पुस्ताले बनाउने हो । तपाईँहरू लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न सक्नुभयो भने नेपालको भविष्यप्रति आशावादी हुने पर्याप्त आधार रहन्छ ।

अन्त्यमा, आजका जल्दाबल्दा र समसामयिक विषयमा केन्द्रित यस महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा पुनः मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरुमलाई धन्यवाद दिँदै, तपाईँहरूको उत्साह, सिर्जनशीलता र अध्ययन तथा वैचारिक यात्राको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु । आगामी दिनमा पनि तपाईंहरूको यस रचनात्मक र वैचारिक यात्रामा मेरो साथ र सहयोग सधैँ रहनेछ ।
धन्यवाद ।

मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरुमद्वारा आयोजित ‘नेपालको बदलिँदो राजनीतिक, प्राविधिक तथा भू–राजनीतिक यथार्थसम्बन्धी युवा संवाद’ कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको पूर्णपाठ