एजेन्सी । फिल्म ‘कान्तारा च्याप्टर १’, ऋषभ शेट्टीको फिल्म विश्वप्यापी रुपमा सिनेमाघरमा रिलिज भइसकेको छ । यो फिल्म ७ भाषामा उपलब्ध छ र दर्शकलाई रहस्यमय र सांस्कृतिक यात्रामा लैजान्छ । के यो फिल्म आफ्नो पहिलो भागझैं दर्शकलाई प्रभावित पार्न सफल हुनेछ ? यसबारे यहाँ चर्चा गरौं ।
फिल्मको कथा कस्तो छ ?
फिल्मको कथा कर्नाटकको काल्पनिक गाउँ कांतारा र त्यस वरिपरिको जंगलमा आधारित छ । गाउँलेहरू विश्वास गर्छन् कि तिनीहरूको रक्षा ईश्वरका गणहरूले गर्छन् । तर, गाउँ र जंगलको जग्गा कब्जा गर्ने लालसा बोकेको राजा र उसका छोरा कुलसेखरले यो शान्तिलाई चुनौती दिन्छन् ।
कुलसेखरले कान्ताराका जनतामाथि अत्याचार गर्छ । यसबीच, आदिवासी नेता बर्मेले आफ्नो साहस र रणनीतिद्वारा कुलसेखरको योजनालाई असफल पार्छ र ‘गुलिका अनुष्ठान’ मार्फत उसको हत्या गर्छ ।
तर, कथा यतिमै सकिँदैन । त्यसपछि सुरु हुन्छ छल, षड्यन्त्र र रणनीतिको खेल ।
त्यसमा कनकवती (रुक्मिणी वसन्त)को सरप्राइज प्रवेश र जंगलका देवता पनजुरलीको शक्ति कथामा रोमाञ्च र गहिराई थप्छन् । फिल्मको क्लाइमेक्स र अनुष्ठानका दृश्यहरूले अन्त्यसम्म दर्शकलाई बाँधिराख्छन् ।
फिल्ममा अभिनय कस्तो छ ?
ऋषभ शेट्टी ‘बर्मे’ को रूपमा पूर्ण रूपमा सहज र प्रभावशाली देखिन्छन् । उनले यसमा आफ्नो सम्पूर्ण लगानी गरेका छन्, जुन उनको अभिनयमा स्पष्ट देखिन्छ । यो उनको वर्षौंसम्म सम्झिने खालको प्रदर्शन हो ।
रुक्मिणी वसन्तको दमदार अभिनय र ग्रे शेड्सले कथामा नयाँ आयाम थप्छ । जयराम र गुलशन देवैयाले पनि आफ्ना–आफ्ना भूमिकामा गहिरो छाप छोडेका छन् ।
निर्देशन र प्राविधिक पक्ष
ऋषभ शेट्टीले कथाको टोनलाई रियल तथा र (कच्चा) राखेका छन् । अरविन्द एस. कश्यपको सिनेमाटोग्राफीले जंगल र गाउँको लोकेशनलाई प्रभावशाली ढंगले क्यामेरामा उतारेको छ । प्रोडक्सन डिजाइन पनि निकै प्रभावशाली छ, जसले आदिवासी संस्कृति र परम्परालाई वास्तविक रूपमा प्रस्तुत गरेको छ ।
एक्सन सीनहरू रोमाञ्चक छन् भने बीच–बीचमा राखिएका कमेडी सीनहरूले फिल्मलाई हल्का र मनोरञ्जनात्मक बनाउँछन् । तर केही दृश्यले फिल्मको गति ढिलो बनाउँछन् । त्यसलाई कसिलो बनाइएको भए वा हटाइएका भए फिल्म अझ आकर्षक हुन सक्थ्यो । हिन्दी डबिङमा भने कतैकतै संवाद र भावनात्मक गहिराइ पूरै आउँदैन ।
संगीत र मनोरञ्जन
फिल्मको ब्याकग्राउण्ड स्कोर र संगीत अजनीश लोकनाथले गरेका छन् जुन् उत्कृष्ट छन् । गीतहरूले कथालाई अझ प्रभावशाली बनाएका छन् ।
फिल्मको अन्तिम मूल्यांकन
‘कान्तारा च्याप्टर १’ केवल फिल्म मात्र होइन, एउटा अनुभव हो । यसले लोककथाहरू, विश्वास र जंगलका रहस्यलाई अद्भुत दृश्य र दमदार अभिनयसँग प्रस्तुत गरेको छ । दोस्रो भागमा केही ग्राफिक्स कमजोर भए पनि समग्रमा यो फिल्म हेर्न लायक र रोमाञ्चक छ।










