काठमाडौँ । सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीले एसिया कपमा आफ्नो अपराजित यात्रालाई कायम राख्दै आठ दिनभित्रै दोस्रो पटक चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई पराजित गरेको छ ।
भारतले समूह चरणपछि सुपर–फोरमा पनि पाकिस्तानविरुद्ध खेल छ विकेटले जित्यो । भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पाकिस्तानले साहिबजादा फरहानको अर्धशतकको मद्दतले २० ओभरमा पाँच विकेट गुमाउँदै १७१ रन बनायो ।
जवाफी ब्याटिङमा अभिषेक शर्मा र शुभमन गिलले भारतलाई बलियो सुरुवात दिलाए र दुवैबीच पहिलो विकेटका लागि शतकीय साझेदारी भयो । भारतले १८.५ ओभरमा चार विकेट गुमाएर १७४ रन पुर्याउँदै खेल आफ्नो नाममा पार्यो ।
भारतसँग टिक्न सकेन पाकिस्तान
यस जितसँगै यो स्पष्ट भएको छ कि पाकिस्तानको टोली भारतअगाडि टिक्न सकेको छैन । दुवै टोलीबीच सबै प्रारूपमा भएका पछिल्ला सात खेलमा पाकिस्तानले भारतलाई एकपटक पनि हराउन सकेको छैन । भारतले एसिया कपको सुपर–फोर चरणमा पाकिस्तानलाई छ विकेटले र समूह चरणमा सात विकेटले हराएको थियो ।
यसअघि च्याम्पियन्स ट्रफीमा पनि भारतले पाकिस्तानलाई छ विकेटले पराजित गरेको थियो, जबकि गत वर्षको टी–२० विश्वकपमा भारतले प्रतिद्वन्द्वी टोलीलाई छ रनले हराएको थियो । वानडे विश्वकप २०२३ मा पनि पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।
यसअघि एसिया कप २०२३ मा भारतले २२८ रनको विशाल अन्तरले जित हासिल गरेको थियो। त्यति मात्र होइन, टी–२० विश्वकप २०२२ मा जब भारत र पाकिस्तान आमनेसामने थिए, भारतले चार विकेटले खेल जित्न सफल भएको थियो ।
गिल–अभिषेकको शतकीय साझेदारी
भारतका लागि अभिषेकले शानदार ब्याटिङ गर्दै ३९ बलमा छ चौका र पाँच छक्काको मद्दतले ७४ रन बनाए । उनले गिलसँग पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरे, जुन वर्तमान प्रतियोगितामा कुनै पनि टोलीको कुनै पनि विकेटका लागि पहिलो १००ं साझेदारी हो ।
पाकिस्तानविरुद्ध लक्ष्य पछ्याउँदा अभिषेक र गिलले भारतलाई तीव्र सुरुवात दिलाए । भारतले पावरप्लेमा कुनै विकेट नगुमाई ६९ रन जोडेको थियो । यस खेलमा रन बनाउन संघर्ष गरिरहेका शुभमन गिल पनि लयमा देखिए । गिल र अभिषेकको साझेदारीलाई फहीम अशरफले तोडे, जसले गिललाई बोल्ड गरे । गिल अर्धशतकबाट चुक्दै २८ बलमा आठ चौकाको मद्दतले ४७ रनमा आउट भए ।
तिलकले प्रहार गरे विजयी चौका
गिल आउट भएपछि भारतीय कप्तान सूर्यकुमार यादव खाता नखोली नै आउट भए । केही समयपछि अबरार अहमदले अभिषेक शर्मालाई आउट गर्दै भारतलाई तेस्रो झट्का दिए । त्यसपछि तिलक वर्मा र संजू सामसनले पारी अघि बढाए र स्कोर १५० पार गराए ।
हारिस रउफले सामसनलाई आउट गर्दै भारतलाई चौथो झट्का दिए । पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका सामसन १७ बलमा एक चौका प्रहार गर्दै १३ रनमा आउट भए । त्यसपछि तिलक र हार्दिक पाण्ड्याले पाकिस्तानलाई थप सफलता हात पार्न दिएनन् र तिलकले विजयी चौका प्रहार गरे । तिलक १९ बलमा दुई चौका र दुई छक्कासहित ३० रनमा अविजित रहे, हार्दिक सात बलमा एक चौकासहित सात रनमा नटआउट रहे ।
भारतको कमजोर फिल्डिङ
एसिया कपको सुपर–फोर चरणको खेलमा भारतीय टोलीले पाकिस्तानविरुद्ध फिल्डिङमा कमजोर प्रदर्शन गर्यो । जहाँ भारतले यसअघि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो, त्यहाँ यस खेलमा फिल्डिङमा निराश पार्यो ।
पाकिस्तानका ब्याटर, विशेषत: ओपनर साहिबजादा फरहानले यस अवसरको पूरा फाइदा उठाउँदै अर्धशतक प्रहार गरे । भारतले यस खेलमा चारवटा क्याच छोड्यो । पहिलो क्याच पारीको पहिलो ओभरमै छुट्यो, जब अभिषेक शर्माले हार्दिक पाण्ड्याको बलमा फरहानको सजिलो क्याच टप्काए ।
त्यसबेला फरहानले खाता पनि खोलेका थिएनन् । दोस्रो मौका पाँचौँ ओभरको चौथो बलमा आयो, जब कुलदीप यादवको बलमा फरहान १६ रनमा थिए र क्याच हातमा पर्छ जस्तो देखिए पनि समाउन सकेनन् । तेस्रो जीवनदान पनि अभिषेकले दिए, जसले आठौँ ओभरको तेस्रो बलमा फरहानको क्याच छोडे । त्यतिबेला फरहान ३९ रनमा थिए ।
फरहानले यी अवसरको पूरा फाइदा उठाउँदै ३४ बलमा अर्धशतक पुर्याए र ब्याटलाई हावामा उचाल्दै बन्दुकको इशारा गरे । चौथो क्याच १९औँ ओभरको पाँचौँ बलमा छुट्यो, जब शुभमन गिलले फहीम अशरफको क्याच छोडे । यी चार अवसरहरूले पाकिस्तानलाई चुनौतीपूर्ण स्कोर बनाउन सहयोग पुर्यायो ।
कमब्याकमा चम्कन सकेनन् बुमराह
भारतीय टोलीका अनुभवी तेज बलर जसप्रीत बुमराह पाकिस्तानविरुद्ध महँगो साबित भए । बुमराहले तीन ओभरमै ३४ रन खर्चिए । एसिया कपको सुपर–फोर खेलका लागि उनलाई प्लेइङ–११ मा फर्काइयो, तर उनले निराशजनक प्रदर्शन गरे । चार ओभरको स्पेलमा उनले ४५ रन खर्चिए र एक पनि विकेट लिन सकेनन् ।
उनको इकोनोमी ११.२० रह्यो । पाकिस्तानका लागि साहिबजादा फरहानले ४५ बलमा पाँच चौका र तीन छक्कासहित ५८ रन बनाए, जबकि साम अय्यूबले २१, मोहम्मद नवाजले २१, फखर जमनले १५ र हुसेन तलतले १० रन बनाए । त्यस्तै, फहीम अशरफ २० र कप्तान सलमान आगा १७ रनमा अविजित रहे । भारततर्फ शिवम दुबेले दुई विकेट लिए, हार्दिक पाण्ड्या र कुलदीप यादवले एक–एक विकेट हात पारे ।










