२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित



अ+ अ-

जकार्ता। पूर्वी इन्डोनेसियामा शनिबार आएको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले जनाएको छ । करिब पाँच हजार मानिस विस्थापित भएका छन्। उद्धार टोलीहरू अझै पहिरोले अवरुद्ध बाटो खोल्न व्यस्त छन्।

इन्डोनेसियाको करिब २९ करोड जनसङ्ख्या लगभग १७ हजार टापुमा बसोबास गर्छ । यो प्यासिफिक ‘रिङ अफ फायर’मा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो ।

शनिबार बिहानै आएको ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–पश्चिममा, पूर्वी नुसा तेङ्गारा प्रान्तमा परेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई १० किलोमिटर बताएको छ ।

भूकम्पपछि अहिलेसम्म करिब ३४१ परकम्प आइसकेका छन्। यो पछिल्ला वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्पहरूमध्ये एक मानिएको छ।

उप स्वास्थ्यमन्त्री बेन्जामिन पाउलस ओक्टेभियानसले आइतबार भन्नुभयो, “भूकम्पमा परी ५१ जनाको मृत्यु भएको, ३६ जनालाई गम्भीर घाइते अवस्थामा भेटिएको छ भने ७७ जनालाई सामान्य चोट लागेको छ ।

भूकम्पका कारण सिक्का क्षेत्रमा मात्र तीन हजार ३०० भन्दा बढी मानिस घर छाडेर भागेका वा अलपत्र परेका र धेरैजना खेल मैदानमा आश्रय लिइरहेका राष्ट्रिय विपद् व्यवस्थापन निकाय बिएनपिबीले जनाएको छ।

टालिबुरा गाउँकी एक बासिन्दाले भन्नुभयो, “कम्पन धेरै ठूलो थियो। हामी १३ जना परिवार नै भागेर बाहिर निस्कियौँ।”

मौमेरे बन्दरगाह शहरमा बासिन्दाहरू भत्किएका घर अगाडि पालमुनि बसिरहेका छन्। अरूलाई अस्पताल बाहिर अस्थायी पालमा उपचार दिइएको छ। एक क्षेत्रीय उपप्रमुखले भन्नुभयो, “अधिकांश सिक्काबासी अहिले पनि घरभित्र बस्न डराउँछन् र बाहिरै सुत्छन्।”

घर र पूर्वाधारमा क्षति

बिएनपिबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार भूकम्पले कम्तीमा १५७ घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने करिब २०० घर क्षतिग्रस्त भएका छन्। भूकम्पको केन्द्र नजिकको नागेकेओ क्षेत्रका करिब दुई हजार स्थानीयलाई अस्थायी आश्रयमा सारिएको छ ।

उद्धारका लागि तीन हेलिकप्टर र एउटा उद्धार जहाज पठाइएको छ। यस क्षेत्रका साना–साना टापुहरूले पहुँचलाई अझै कठिन बनाएका छन्।

पूर्वी नुसा तेङ्गाराका प्रहरी प्रमुख रुडी दार्मोकोले भन्नुभयो, “प्रान्तभरि गम्भीर क्षति र भवन भत्किएका छन्।”

केही ठाउँमा उद्धार अझै पुग्न सकेको छैन ।

पहिरोले बाटो अवरुद्ध गरेको नागेकेओसम्म उद्धार टोली पूर्ण रूपमा पुग्न सकेका छैनन्। त्यहाँको सञ्चार पनि बिग्रिएको छ । मौमेरेका एक उद्धार अधिकारीले भन्नुभयो, “टोलीले उद्धारका लागि फेरीबाट वस्तीमा पुग्ने प्रयास गरिरहेको छ ।”

भूकम्पपछि उद्धार तथा राहत वितरण व्यवस्थापनका लागि तीन हजार ५०० भन्दा बढी सेना र प्रहरी परिचालन गरिएका छन्। एक हजार ३०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। विद्युत् कटौतीका कारण २० पेट्रोल पम्प बन्द भएका राज्यको ऊर्जा कम्पनी पर्टामिनाले जनाएको छ । रासस