१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ



अ+ अ-

वीरगञ्ज । पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो ।

“अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ गरिसकेका थियौँ, तर, डेढ विघामा लगाएको चैते धान भित्राउन ढिला भएकाले रोपाइँ गर्न सकेका थिएनौँ”, उहाँले भन्नुभयो, “एक सातायता यहाँ दिनहुँजसो पानी परेसँगै बाँकी खेतमा पनि धान रोपेका छौँ ।” उहाँले ढिलै भएपनि अकाशेपानी परेपछि यहाँका किसान उत्साही भएको बताउनुभयो ।

“एक त चैतेधान भित्राउनै ढिलो भयो, अर्कोतर्फ नियमित बिजुली नआउँदा पनि बोरिङमार्फत पानी निकालेर रोप्न गाह्रो भयो”, उहाँले भन्नुभयो । मधेश प्रदेश कृषि विकास निर्देशनालयका बरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादव मधेस प्रदेशमा अकाशेपानी परेसँगै धान रोपाइँ धमाधम भइरहेको बताउनुभयो ।

“यही साउन १६ गतेसम्म मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये ५७ दशमलव २७ प्रतिशतमा मात्रै धान रोपाइँ भएको थियो, पछिल्लो एक सातामा थप १९ दशमलव २७ हेक्टरमा धान रोपाइँ भएको छ”, बरिष्ठ वागवानी अधिकृत यादवले भन्नुभयो ।

निर्र्देशनालयका अनुसार यही साउन २३ गतेसम्म मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ कूल ७६ दशमलव ५४ प्रतिशत अर्थात दुई लाख ८५ हजार दुई सय ३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा धेरै बारामा ९५ प्रतिशत, पर्सामा ९२ प्रतिशत र रौतहट जिल्लामा ८५ दशमलव ९ प्रतिशत धान रोपाइँ भएको छ । सर्लाहीमा पनि ७५ प्रतिशत, धनुषामा ७० प्रतिशत, महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत, सप्तरीमा ७० प्रतिशत र सिरहामा ७० प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले अकाशेपानी परेपछि पर्सामा धान रोपाइँ अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी परेपछि धान रोपाइँ राम्रो भएको छ, केही दिनसम्म नियमित पानी परे धान रोपाइँमा थप सहज हुन्छ ।”

अकाशेपानी परेसँगै बाराका कृषकहरुमा पनि उत्साह थपिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायणप्रसाद साहले बताउनुभयो । “अकाशेपानी परेसँगै धानको रोपोलाई धेरै हदसम्म राहत भएको छ । धान नरोपिएको ठाउँमा पनि धमाधम धान रोपाइँ भइरहेको छ ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले अकाशेपानी परेसँगैसर्लाहीमा ७५ प्रतिशत धान रोपाइँ भएको बताउनुभयो । “पानी नपर्दा खेतमा धाँजा फाटेको थियो, अहिले पानी परेपछि सुकेको रोपो पलाउने आशा जगाएको छ”, उहाँले भन्नुभयो । रासस