१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ
अ अ+ अ-

ढोरपाटन, (बागलुङ) । अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुग्नुभएको थियो ।

झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिनुभएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उहाँसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्नुहुन्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् । टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आउनुभएको थियो ।

उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा नै हुनुहुन्छ । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उहाँले काम गर्नुहुन्छ । धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस पुर्याउन नसकिने हुँदा लेकबेँसी गर्नुपर्ने बाध्यता छ । टीकाधारा बुकीपाटन क्षेत्र हो । यहाँ अरु पनि थुप्रै गोठाला बस्छन् । लेकमा बढी चिसो हुने हुँदा गर्मीयाममा पनि बाक्लो कपडा लगाएर बस्नुपर्ने अवस्था छ । पाँच दशक बढी समय भेडापालनमा खर्चिए पनि अहिलेसम्म कतैबाट अनुदान पाउन नसकेको घतान गुनासो गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो, बेलाबेलामा आएर कर्मचारीहरूले नाम टिपेर जान्छन्, तर दिने बेला केही पनि दिँदैनन्, समाचारले सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, हामीले अहिलेसम्म केही पनि पाएनौँ, बाउबाजेले यही पेसा गरे, हामीहरू पनि यसैमा लागियो अहिलेसम्म यहीबाटै परिवार चलाएका छौँ ।”

बुकीपाटनमा रहेका भेडीगोठ अब असोज लागेपछि मात्रै बेँसी झर्छन् । यतिबेला टीकाधारा क्षेत्रमा बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट गोठालाहरू भेडा लिएर आएका छन् । बुकीपाटनभरि छरिएर रहेका गोठ र त्यहाँ बस्ने गोठालाको आ–आफ्नै कथाव्यथा र पीडा छ । तर उहाँहरूको गुनासो भने एउटै छ– सरकारले सहयोग गरेन । रुकुमपूर्वका सत्यराम विश्वकर्माले गोठालाका लागि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री दिए पनि आफूहरूका लागि ठूलो टेवा पुग्ने बताउनुभयो ।

“हाम्रो अघिल्लो पुस्ताले पनि भेडापालन गर्नुभयो, अहिले मैले पनि यही पेसा समाएको छु, अहिले मेरा तीन सयको हाराहारीमा भेडा छन्, गाउँमै बसेर यति धेरै भेडा पाल्न सकिँदैन, ठाउँठाउँमा पुगेर भेडाको स्याहारसुसार गर्नुपर्छ”, विश्वकर्माले भन्नुभयो, “एउटा बर्खामा तीनचार ठाउँमा गोठ सारेर बस्नुपर्छ, गोठ बनाउनका लागि एउटा गतिलो त्रिपाल, रातिमा बाल्ने सोलार दिए हुन्थ्यो ।”

बुकीपाटनमा यतिबेला भेडीका बथान र गोठालाको चहलपहल छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीडभाडनै हुने गरेको छ । पर्यटकले भेडाको बथानमा छिरेर दु:ख दिने गरेको भेडीगोठाला लेकबहादुर विकले बताउनुभयो । पर्यटक बथानमा छिरेर नाच्ने र दौडिने गर्दा भेडा भाग्ने गरेको उहाँको भनाइ छ । “घुम्न आएका पाँच–सात जना एकैपटक भेडाको बथानमा छिरेर नाच्छन्, चिच्याउँछन्, त्यो गर्दा भेडा डराएर टाढाटाढा भाग्छन्, भागेका भेडालाई जम्मा गर्न धेरै समय लाग्छ, यसरी बथानमा नपस्नु भन्दा उल्टै हामीहरूलाई गाली गर्छन् ।” रासस