काठमाडौँ । सभामुख देवराज घिमिरेलेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ । शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा पुगेर सभामुख घिमिरेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।
सभामुख घिमिरेले राष्ट्रपति पौडेलसँग विधेयक फिर्ताबारे चासो राखेको सभामुखनिकट स्रोत बताउँछ ।
राष्ट्रपति पौडेलले संशोधित विधेयक प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापि लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको साथै संवैधानिकतालाई सीमित र संकूचित बनाउने आशंकासहित विहीबार साँझ संघीय संसदमा फिर्ता पठाउनुभएको थियो ।
दुवै सदनबाट पारित भई सो संशोधन विधेयक प्रमाणीकरणका लागि असार ३१ मा राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
यस्तै, सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।










