काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ३२ रनको लक्ष्य दिएको छ।
लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनायो।
इशान किशनले हैदराबादका लागि विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सात चौका र पाँच छक्कासहित अविजित ९४ रन जोडे। अन्य ब्याट्सम्यानमध्ये अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६, हेनरिक क्लासेनले २४, ट्र्याभिस हेडले १७, कप्तान प्याट कमिन्सले अविजित १३ र अभिनव मनोहरले १२ रन बनाए।
बलिङतर्फ आरसिबीका रोमारियो शेफर्डले दुई विकेट लिए भने भुवनेश्वर कुमार, लुंगि एन्गिडी, सुयश शर्मा र कृणाल पाण्ड्याले एक/एक विकेट लिए।
जारी सिजनमा आरसिबी उत्कृष्ट प्रदर्शनमा रहेको छ। १२ मध्ये आठ खेल जितेको आरसिबी १७ अंकसहित दोस्रो स्थानमा रही प्लेअफ सुनिश्चित गरिसकेको छ।
विपरित, गत सिजनको उपविजेता हैदराबाद १२ खेलमा चार जित, सात हार र एक ड्रका साथ ८ अंकसहित आठौँ स्थानमा छ र प्लेअफ दौडबाट बाहिरिसकेको छ।










