काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त आन्दोलनका क्रममा हिंसा, आगजनी र अराजक गतिविधि भएको दाबी गरे। उनले विभिन्न देशमा चुनाव भए पनि लोकतन्त्रको अभ्यास समान नहुने उल्लेख गर्दै नेपालमा पनि लोकतान्त्रिक प्रणालीमाथि आक्रमण भएको टिप्पणी गरे।
‘भदौ २३/२४ गते जुन खालको मार्ने–मराउने, आगजनी गराउने र नेपालको इतिहासमै कल्पना गर्न नसकिने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जाका लागि हिंसात्मक बाटो रोज्यो, तर समाजलाई भयमा राख्ने खालका गतिविधि भने गरेन।’
ओलीले जेनजी आन्दोलनपछि वैधानिक सरकारविरुद्ध अवैधानिक र आतंकपूर्ण गतिविधि सञ्चालन गरिएको आरोप लगाए। उनका अनुसार संविधानले व्यवस्था नगरेको प्रक्रियामार्फत तत्कालीन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा असंवैधानिक कदम चालिएको थियो।
‘वैधानिक सरकारविरुद्ध अवैध र आतंकपूर्ण आपराधिक गतिविधि गरियो। संविधानको धाराले गर्न नहुने काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो,’ उनले भने, ‘अवैध सिफारिसका आधारमा जननिर्वाचित संसद् असंवैधानिक रूपमा विघटन गर्ने काम भयो।’
ओलीले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधि दोहोरिन नदिन सबै राजनीतिक दल र नागरिक सचेत हुनुपर्ने बताए।











