
सप्तरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले समाजवाद निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ एमाले सप्तरीको १०औँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उहाँले नेपालमा समाजवादको स्थापनाविना पार्टीले सोचअनुरुप सामाजिक जीवनमा परिवर्तन सम्भव नरहेको र कुनै पनि पार्टीले समाजवाद निर्माण गर्न नसक्ने बताउनुभयो ।
उपाध्यक्ष थापाले देशमा गरिबी निवारण, विकास तथा समृद्ध नेपाल निर्माणका लागि समाजवाद क्रान्ति आवश्यक रहेको र त्यो एमालेबाट मात्रै सम्भव हुने धारण राख्नुभयो । उहाँले भन्नुभयो, “एमालेलगायत पार्टीले लोकतन्त्रिक गणतन्त्र ल्याउनका लागि योगदान दिए तर अब समाजवाद निर्माणमा एमाले पार्टीको अहम् भूमिका छ । यसमा हामीले गम्भीरताका साथ लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस