११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा

मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
अ अ+ अ-

भादगाउँ । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेग (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ ।

तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेरभन्दा निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने नाचका रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

“नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत नाचमा प्रस्तुत गरिएको छ, सबै देवगणलाई देवगृहमा भित्र्याउने, निष्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा नंकी (घरमूली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो”, उहाँले भन्नुभयो, “जात्राले मल्लकालीन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मूल सन्देश जात्रामा देखाएको छ ।”

नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः (महालक्ष्मी)को प्रतीकका रुपमा लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रह्मयणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ । त्यसबाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विशेष खालको महापात्र (खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ ।

नाचमा मुबाहा (सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको (धौबजी)लाई प्रसादका रुपमा देवगणले ग्रहण गर्छन् । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइँदैन । महेश्वरीलाई बर्खी बाँडेकी देवीका रुपमा पुजिन्छ ।

माघे सङ्क्रान्तिको भोलिपल्ट सुजमारीबाट सुरु गर्ने जात्रा नगरका २१ स्थानलगायत काठमाडौँको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा सुरु गर्नु एक दिनअगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राति खःप्याखं प्रदर्शन गरी मुःवाहा जात्रा गर्ने परम्परा छ ।

जात्रामा प्रदर्शन गर्ने नाच

भैरवनाथको नाचबाट जात्रा सुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरुमा नाच प्रदर्शन गरिन्छ । भैरवको बाहुलीबाट पूजा गर्ने, बलि दिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु ९लखट्ने० नाच सुरु गरिन्छ । नाच सुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडी, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिक रुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरव, काली र गणेशको नाच प्रदर्शन गरिन्छ ।

धान रोपाइँ नाच

ब्रह्मायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाइँ नाच देखाइन्छ । सृष्टिकर्ताका रुपमा रहेका बह्मायणीबाट नाचबाट सुरु गरिन्छ । कुमारीले परिवारमा चेलीबेटीले गरिने व्यवहारको नाच प्रदर्शन गर्छ । सरसफाइ गर्ने, शृङ्गारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरवले खाली पात्र दियो भनी चित्त दुःखाइ कुमारी तुलेगु ९कुमारी विलाप गर्ने० नाच प्रदर्शन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीका रुपमा समेत पूजा गरिन्छ ।

त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतीकको नाच देखाइन्छ । कुनै प्राणी बाँच्नका लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीका रुपमा पुजिन्छ । शान्तिको प्रतीकका स्वरुप यिनलाई गङ्गाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीका रुपमा पुजी नाच देखाइन्छ ।

बाराही नाच

बाराहीले घरको महिलाको नाच प्रदर्शन गरिन्छ । बेलविवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टतालगायत नाच प्रदर्शन गरिन्छ ।

सिम्हदुम्हको ङालाकेगु जात्रा

जात्रामा सिम्हदुम्हलाई भीमसेन र द्रौपदीका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भीमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपदीको भूमिका निभाउँछ । जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्ने टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचारयुक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोलटोलमा तीन पटकसम्म ङालाकेगु गर्छ ।

महाकाली नाच

सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीका रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रदर्शन गरिन्छ । नाचमा आफूले बलि नपाउँदा रिसाइ फर्कने क्रोधी देवीका रुपमा देखाइन्छ ।

श्वेतभैरवको खास्टो लुट्ने फिर्ता गर्ने नाच

यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफा गरी रहेको बेला श्वेतभैरवले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरवसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरवले महाकालीलाई मायाले फकाए पनि मान्दैन ।

जति मायाले फकाए नि महाकाली नमानेपछि स्वेतभैरवले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरवले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुसी भई मुखबाट भालेको टाउको छुट्याइ बलि लिन्छ र भैरवलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ ।

श्वेतभैरवको ङालाकेगु जात्रा

खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरव र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरवले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरवको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरवलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।

श्वेतभैरवको पेट दुख्ने नाच

माछा मार्ने जात्रा सकेपछि श्वेतभैरवलाई पेट दुखेर छटपटिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच प्रदर्शन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैँले लुगा धुने नाच देखाइन्छ ।

समापन नाच

समापन नाच राति देखाइन्छ । यस नाचमा श्वेतभैरवको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामूहिक नाच प्रदर्शन गरिन्छ । त्यसपछि स्थानीयवासीका हर्षोल्लासका साथ बाजागाजा अगाडि राखेर जयजयकारका साथ धूप, अगरबत्ती बाली देवगृह पु¥याई जात्रा सम्पन्न गरिन्छ ।

प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण, उत्साह उमङ्ग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि सुरु भई सिथी नखाःमा समापन हुन्छ । घण्टाकर्णसँगै नवदुर्गा उत्पत्ति भई सिन्हाज्या सुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप सुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।

नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रह्मायणी जोल भन्ने जङ्गल थियो । सो जङ्गलको खोँचमा एउटा मन्दिर छ । उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जङ्गलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगबलि लिने कारण जनजीवन भयावह अवस्था आयो । एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपूजन गर्न पाउँ भनी बिन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली ९नेवार समुदायान पूजा राख्ने विशेष खालको थाली० मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ ।

आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगबलि लिन थाले । भोगबलिकै लागि नवदुर्गाले मनुष्यको रुपधारण गरी नालाका मानिसहरुलाई जङ्गलमा लाने र भोगबलि लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।

एक दिन नालामा नवदुर्गाले भोगबलि लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछन् । कारणवश ब्राह्मण आचाजुको घरमा पुगेछन् । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजीनिति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो बासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले ।

एक दिन ब्राह्मण स्नान गर्न गएका बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चाल पाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे । त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गर्छन् । मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी सबै गण समावेश भएको गणखा ९वनमाला समुदाय०लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी ९कालो टीका० धारण गरेपछि देव प्रतिनिधि हुन पाउनेछन् । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुँगुरलाई लिएको मानिन्छ ।

आठ महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछेस्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छुबाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाँकी रहेको छ । खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालना गर्दै जात्रालाई जीवन्त राख्दै आएका वनमाला समुदायको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिकालगायत राज्यले विशेष बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पूर्वसचिव रत्नमान वनमालाले बताउनुभयो । रासस