काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)लाई ‘उत्कृष्टताको केन्द्र’का रूपमा विकास गरिने बताउनुभएको छ।
स्टाफ कलेजको ४४औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै सचिव भुजेलले प्रतिष्ठानलाई व्यवस्थापन तथा नेतृत्व विकासको केन्द्रका रूपमा स्थापित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले स्टाफ कलेजको भौतिक पूर्वाधार विकास, विशेषगरी काभ्रेमा जग्गा प्राप्ति तथा पूर्वाधार विस्तारका लागि मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, तालिम प्रणालीलाई आधुनिक बनाउँदै अनुसन्धान र परामर्शका क्षेत्रमा समेत प्रतिष्ठानको भूमिका विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सचिव भुजेलले प्रतिष्ठानले निजामती सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै हालै प्राप्त गरेको आईएसओ प्रमाणपत्रले संस्थाको गुणस्तर र व्यावसायिकता प्रमाणित गरेको उल्लेख गर्नुभयो। उहाँले बदलिँदो सन्दर्भअनुसार प्रतिष्ठानलाई थप आधुनिक र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले स्टाफ कलेजले तालिम प्रदान गर्ने संस्थाका रूपमा मात्र नभई अनुसन्धान र परामर्शका क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गर्दै अन्य प्रशिक्षण केन्द्रका लागि पथप्रदर्शक बन्नुपर्ने बताउनुभयो। सरकारी निकाय, विश्वविद्यालय र प्रशिक्षण प्रतिष्ठानबीचको समन्वयलाई थप बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो।
सचिव भुजेलले हालै खारेज गरिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालन हुँदै आएको शाखा अधिकृतस्तरको तालिम अब स्टाफ कलेज मातहत ल्याउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।
प्रदेशस्तरमा छुट्टाछुट्टै प्रशिक्षण केन्द्र स्थापना भइसकेको अवस्थामा केन्द्रमा दोहोरो प्रकृतिका संस्था आवश्यक नरहेको उल्लेख गर्दै उहाँले शाखा अधिकृतस्तरको तालिमको व्यवस्थापन स्टाफ कलेजबाटै गरिनुपर्ने धारणा राख्नुभयो।







