पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–२ रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार असोज ११ गते बिहान करिब २ः३० बजे बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको थियो। ढिस्कोले घर पुरिएपछि घरभित्र रहेका मगरलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो।
उनको उपचारका क्रममा बिहान ९ः०५ बजे चिकित्सकले मृत्यु भएको घोषणा गरेका प्रहरीले जनाएको छ।
घरमा रहेका अन्य चार जना भने सुरक्षित रहेको जनाइएको छ। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।








