विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकबाट प्रहरीले ३९८ किलो लागूऔषध गाँजासहित स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति करिब १० बजे प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक जाँच गरिरहेको अवस्थामा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीलाई जाँच गर्न खोजेको थियो ।
प्रहरीलाई देखेपछि चालकले गाडी युटर्न गरी भाग्ने क्रममा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कार्पियोको खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको १३ पोकामा ३९८ किलो गाँजा बरामद भएको हो ।
गाँजा बरामद भएपछि स्कार्पियो चालक भने फरार भएका छन् । प्रहरीले फरार चालकको खोजी तथा पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।
दुर्घटनामा बागमती प्रदेशको कार चालकको अवस्था सामान्य रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।