काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरेको घटनाप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन्।
पोखरेलले जबराको पक्राउ नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लंघन भएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्मविपरीत भएको उल्लेख गरेका छन्।

गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको भन्दै पोखरेलले सबैलाई यस्ता कार्यविरुद्ध खबरदारी गर्न आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
जबराविरुद्ध २०७८ फागुन १ गते तत्कालीन प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो।







