काठमाडौं । लगातारको वर्षाका कारण देशका प्रमुख नदी तथा खोलामा पानीको सतह बढेको छ । नारायणी नदीमा पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ भने अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कालीगण्डकी नदीमा पनि पानीको सतह खतरा तहभन्दा माथि पुगेको छ । यस्तै सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेर बढ्दो क्रममा रहेको छ ।
बुढीगण्डकी र त्रिशूली नदीमा भने पानीको सतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
नारायणी नदीमा पानीको सतह निरन्तर बढिरहेकाले चितवन र नवलपरासी जिल्लाका नदी आसपासका होचा तथा डुबानको जोखिम भएका क्षेत्रका स्थानीयलाई सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ ।
वर्षा जारी रहेकाले नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।