काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन हुँदैछ।
असोज १० गतेका लागि निर्धारण गरिएको क्षेत्रीय अधिवेशन अत्यधिक वर्षाका कारण प्रभावित भएपछि केन्द्रीय निर्वाचन समितिले असोज १३ गतेभित्र आफूअनुकूल मितिमा अधिवेशन सम्पन्न गर्न जिल्ला निर्वाचन समितिलाई विकल्प दिएको थियो। सोहीअनुसार आज १३ जिल्लामा क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
उनका अनुसार आज झापा, मोरङ, काठमाडौं, म्याग्दी, बागलुङ, अर्घाखाँची, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालीकोट र सुर्खेतमा अधिवेशन हुँदैछ।
यस्तै, असोज १२ गते ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, नवलपुर, रुपन्देही, गुल्मी, दाङ, सल्यान, बाजुरा, बझाङ, अछाम र कैलाली गरी २९ जिल्लामा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।

असोज १३ गते सुनसरी, नुवाकोट, मकवानपुर, नवलपरासी, बर्दिया र दैलेखमा तथा असोज १४ गते इलाममा अधिवेशन गर्ने तयारी छ। अन्य १७ जिल्लाले भने पूर्वनिर्धारित तालिकाअनुसार असोज १० गते नै क्षेत्रीय अधिवेशन सम्पन्न गरेका छन्।
निर्वाचन समितिका अनुसार डडेलधुरा, मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जुम्ला, डोटी, दार्चुला र कञ्चनपुरमा निर्वाचन प्रक्रिया जारी छ।
क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने भएकाले कांग्रेसको महाधिवेशन प्रक्रियामा यसलाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ। महाधिवेशन प्रतिनिधि बन्ने प्रतिस्पर्धामा केन्द्रीय नेतादेखि नयाँ पुस्ताका नेता–कार्यकर्तासम्म सहभागी छन्। चर्चित कलाकार तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरूसमेत महाधिवेशन प्रतिनिधिका लागि चुनावी मैदानमा उत्रिएका छन्।
महाधिवेशन प्रतिनिधि बन्नका लागि उम्मेदवारहरूले क्षेत्रीय प्रतिनिधिमार्फत मत माग्ने क्रम तीव्र बनाएका छन्। उनीहरूले फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रत्येक निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ।
प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन हुनेछन्। पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति संघीय तथा प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वतः महाधिवेशन प्रतिनिधि हुने कांग्रेसको विधानमा व्यवस्था छ।
कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन हुनेछ। कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ। वडा अधिवेशनबाट असोज ३ गते कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु भएको हो।







