काठमाडाैँ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार ११ असोजमा तिनधारे, बसपार्क, बर्जा र बगालेथोक सडकखण्डमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। प्रहरी टोली परिचालन गरी पहिरो हटाएपछि ती स्थानमा सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
त्यस्तै, गल्याङ नगरपालिका–३ चिन्नेपानीस्थित सिद्धार्थ राजमार्गमा पनि सडक माथिबाट पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले पहिरो हटाएपछि उक्त सडकखण्ड हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
वर्षा अझै जारी रहेकाले राजमार्गका अन्य स्थानमा समेत पहिरो खस्न सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्था भएमा सावधानी अपनाउन अनुरोध गरेको छ।