काठमाडौं । हिन्दु पञ्चांगअनुसार आश्विन कृष्ण प्रतिपदादेखि पितृ पक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । सोह्रश्राद्धको पहिलो दिन आज काठमाडौंको गोकर्णेश्वर उत्तरगया, पशुपतिनाथ क्षेत्रलगायत देशभरका प्रमुख नदी किनार तथा तीर्थस्थलमा दिवंगत पितृको नाममा तर्पण, सिदादान र पिण्डदान गर्ने श्रद्धालुको बिहानैदेखि भीड लागेको छ ।
सनातन धर्मावलम्बीहरूले सोह्रश्राद्धलाई दिवंगत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा लिने गर्छन् । धार्मिक मान्यताअनुसार पितृ पक्षका क्रममा पितृहरू पृथ्वीलोकमा आउने र आफ्ना सन्ततिबाट गरिने तर्पण तथा श्राद्धको अपेक्षा गर्ने विश्वास छ ।

सोह्रश्राद्धको पहिलो दिन प्रतिपदाको तिथिमा दिवंगत भएका पितृको सम्झनामा श्राद्ध गर्ने गरिन्छ । आफ्ना पुर्खाको देहावसान भएको तिथिअनुसार सम्बन्धित दिन श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ ।
विशेषगरी गोकर्णेश्वर उत्तरगयामा बिहानैदेखि पितृको मोक्षको कामना गर्दै श्राद्ध तथा तर्पण गर्नेहरूको घुइँचो लागेको छ । कतिपय श्रद्धालुले घरमै विधिपूर्वक श्राद्ध गरिरहेका छन् भने कतिपय नदी किनार तथा पवित्र तीर्थस्थलमा पुगेर तर्पण र पिण्डदान गरिरहेका छन् ।
शास्त्रीय मान्यताअनुसार सोह्रश्राद्धका क्रममा गरिने कर्मकाण्डबाट पितृ तृप्त हुने र उनीहरूको आशीर्वादले परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । चाडपर्वको सुरुवातसँगै पर्ने पितृ पक्षले नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने अवसरसमेत प्रदान गर्दै आएको छ।







