११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर
अ अ+ अ-

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

शान्ति सेवा गृहको आयोजनामा सञ्चालन गरिएको शिविरमा बाढीका कारण घर तथा थातथलो छाडेर काठमाडौंमा विस्थापित भएका बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।

शान्ति सेवा गृहका उत्तम निरौलाका अनुसार बाढी प्रभावित परिवारको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै स्त्रीरोग, बालरोग, आँखा, दाँत तथा प्रयोगशाला परीक्षणको व्यवस्था गरिएको छ ।

शिविरबाट उपचारपछि थप स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीलाई फलोअप, औषधि तथा आवश्यकताअनुसार अस्पतालसम्मको सेवा निःशुल्क उपलब्ध गराइने संस्थाले जनाएको छ । गम्भीर बिरामीलाई सम्बन्धित अस्पताल वा आवश्यकताअनुसार अन्य अस्पतालमा समेत उपचारका लागि पठाइने जनाइएको छ ।

शिविरमा एक सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । बालरोग विशेषज्ञ डा. कौशलका अनुसार अधिकांश बालबालिकामा रुघाखोकी, ज्वरो, कान पाक्ने तथा झाडापखालाजस्ता समस्या देखिएको छ । करिब १५ देखि २० जना बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएपछि उनीहरूलाई मानसिक स्वास्थ्य विशेषज्ञकहाँ पठाइएको उहाँले जानकारी दिनुभयो ।

आत्मन हस्पिटल एण्ड हिलिङ सेन्टरकी निर्देशक तथा मनोचिकित्सक साधना थापाले बाढी प्रभावितमा मानसिक तथा भावनात्मक असरसमेत देखिएको बताउनुभयो । परिवारका सदस्य गुमाउनुका साथै घर, जग्गा, खेती तथा सम्पत्ति गुमाएका कारण प्रभावितमा अत्यधिक चिन्ता, डर, राति झस्किने र भविष्यप्रति अन्योल देखिएको उहाँको भनाइ छ ।

विशेषगरी बालबालिकामा फेरि बाढी आउने डर, आफू असुरक्षित भएको महसुस तथा ‘अब कहाँ जाने’ भन्ने अन्योल देखिएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा व्यक्तिगत मनोचिकित्सासँगै समूहगत शोक व्यवस्थापन र मनोसामाजिक सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

रसुवा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछानेले स्वास्थ्य शिविर सञ्चालन गरेर शान्ति सेवा गृहले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले बाढी प्रभावितको स्वास्थ्य, शिक्षा, आवास, रोजगारी तथा मनोसामाजिक अवस्थाका विषयमा राज्यले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बाढी गएको करिब एक महिना बितिसक्दा पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा पर्याप्त काम हुन नसकेको प्रभावितको गुनासो छ । काठमाडौंमा बसिरहेका परिवारले घरभाडा, बालबालिकाको शिक्षा तथा दैनिक जीविकोपार्जनमा समस्या भोगिरहेको उनीहरूको भनाइ छ ।

रसुवाका विकास लामाका अनुसार एकै वडाका मात्रै करिब २०० घरधुरी काठमाडौंमा बसिरहेका छन् भने बाढीपछि थप करिब १०० देखि १५० घरधुरी काठमाडौं आएका छन् । बाढीले कृषि, व्यवसाय तथा रोजगारीका आधार नष्ट भएपछि बालबालिकाको पढाइ र परिवारको दैनिक खर्च व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो ।

नुवाकोट विदुर–१० बेत्रावतीका पवन डंगोलले बाढीका कारण परिवारको आर्थिक अवस्था र आवासमा ठूलो क्षति पुगेकाले तत्काल आफ्नो क्षेत्रमा फर्केर बस्ने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार बालबालिकाको शिक्षा तथा परिवारको आधारभूत आवश्यकताका कारण काठमाडौंमै बस्नुपर्ने बाध्यता छ ।

शान्ति सेवा गृहका अनुसार हाल रसुवा र नुवाकोटका करिब २५० परिवार संस्थाको सम्पर्कमा छन् । शिविरमा सहभागी परिवारको स्वास्थ्यसँगै शिक्षा, आवास, औषधि, मनोसामाजिक सहयोग तथा जीविकोपार्जनसम्बन्धी आवश्यकताको विवरणसमेत संकलन भइरहेको छ ।

संस्थाले अभिभावक दुवै गुमाएका बालबालिकालाई आश्रममा राखी कक्षा १२ सम्मको शिक्षा तथा हेरचाहको जिम्मेवारी लिने जनाएको छ । परिवारसँगै बस्न सक्ने बालबालिकालाई विद्यालय शुल्क तथा आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत गरिएको छ ।

त्यसैगरी बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सिलाइ–बुनाइ, मेकानिक्स, कुखुरापालनलगायत पेसाअनुसार आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको शान्ति सेवा गृहले जनाएको छ।