२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलेख : ओझेलमा बालकमाथिको यौन हिंसा



symbolic photo
अ+ अ-

काठमाडौँ। “अहिले पनि ती दिन सम्झदा आङ सिरिङ हुन्छ, मलाई त्यो पीडादायी बाल्यकालको घटना सम्झनै मन लाग्दैन”, कोटेश्वर निवासी एक युवा आफू १३ वर्ष हुँदा भोगेको यौन दुव्र्यवहारको तीतो सम्झना हो यो ।

बुबाको असामायिक निधन भएपछि आर्थिकरूपमा समस्याका कारण उहाँलाई ठूलोबुबाको घरमा राखियो । ठूलोबुबाको घरमा गएर कक्षा ८ मा भर्ना भएर पढाइ सुरू भयो । उहाँलाई ठूलोबुबाको छोरा दाइसँग सुत्नुपर्ने भयो । दाइले विस्तारै ती युवालाई यौन दुव्र्यवहार गर्दै गएपछि सहनै नसक्ने पीडा हुन थाल्यो ।

“दाइले मलाई नियमितरूपमा यौन दुव्यर्वहार गर्न थाल्नुभयो, यौनाङ्ग दैनिक धेरैबेरसम्म चलाउने, यसो गर उसो गर भनेर अनेक गर्न लगाउने, दुखेर रून्थेँ, म तर दाइले छोडनुहुन्थ्यो”, उहाँले विगतको पीडा घरीघरी रोकिँदै भन्नुभयो, “यति दुख्ने पीडा त छँदैछ, पछि त दाइले मलाई सिरिज लगाएर पनि यौन दुव्र्यवहार गर्न लाग्नुभयो, मलाई सहनै नसक्ने मलाई त सम्झदा पनि श्वास रोकिएलाजस्तो हुन्छ ।”

दैनिकजसो पीडादायी समयहरू सहन नसकेर ती युवाले धेरैपटक भन्न खोज्दा दाइको डरले आँट आएन । त्यसरी नै दुई वर्ष बित्यो । तर रातहरू कष्टकर बन्दै गए । पढाइ कमजोर हुँदै गयो । निराशा बढ्दै गएपछि उहाँले निकै ठूलो साहस गरेर एक दिन आमालाई भन्नैपर्ने अवस्था आयो । “यौनाङ्ग दुखेर कपडा लगाउनै नहुने भयो, मानसिक र शारीरिकरूपमा धेरै पीडा हुन्थ्यो, मैले राम्रोसँग पढ्न पनि सकिन”, उहाँले लामोलामो श्वास फेर्दै भन्नुभयो, “दुई वर्षसम्म मैले यस्तै यातना सहेर बसे, कसैलाई पनि भन्न पनि सकिन, धेरै सहन नसकेपछि आमालाई आँट गरेर भने अनि आमासँगै बस्न थालेँ ।”

आमासँग बस्दा पनि उहाँलाई केटाहरू देख्नैबित्तिकै डर लाग्थ्यो । कसैसँग पनि बोल्न मन नलाग्ने हुन्थ्यो । अहिले ती युवा २७ वर्ष हुनुभयो । अहिले राजधानीकै एक कलेजमा स्नातक तहमा पढ्दै हुनुुहुन्छ । “समाजमा छोरा भनेर छोरासँगै सुताउने चलन छ, जुन राम्रो होइन, सबै दाजु, मामा, काकाको व्यवहार राम्रो हुन्छ भन्ने छैन”, बुबाआमाले ध्यान दिनुपर्ने कुरा सुनाउँदै उहाँले भन्नुभयो, “यस्ता पुरूषसँग बालकलाई राखियो भने बालकको जीवन बर्बाद हुन्छ, नर्क नै हुन्छ ।”

बाल्यावस्थामै यौन हिंसामा पर्ने उहाँ एक्लो हुनुहुन्न । समाजमा बाहिर नआए पनि यस्ता घटनाहरू भइरहेका छन् । गोरखा घर भई हाल कीर्तिपुरमा बस्ने अर्का युवाको पनि सानै उमेर यौन हिंसा भोग्नुपरेको नमीठो अनुभव छ ।  “म ११ वर्षको थिएँ, मेरो काका १६ वर्षको हुनुहुन्थ्यो, जहिले पनि पोर्नग्राफी भिडियोहरू देखाउने, भिडियोमा जस्तै गर भने गोप्य अङ्गहरूमा छुन लगाउने गर्नुहुन्थ्यो”, आफ्ना पीडादायी विगत सुनाउँदै उहाँले भन्नुभयो, “दैनिकजसो त्यो कार्य गर्न लगाउने, विभिन्न प्रलोभनमा पार्ने, चकलेट दिने, नयाँ कपडा किनिदिने, बजार लगेर घुमाउने धेरै नै माया गरेझैँ देखाउने तर यातना धेरै दिने हुनुहुन्थ्यो ।”

काकाले आफूलाई गर्ने व्यवहारबारे उहाँले आमाबुबालाई पनि सुनाउनुभयो । “धेरै सहन नसकेपछि आमासँग रोएँ, आमाले काकासँग कुरा गर्नुभयो, काकाले मैले भतिजलाई माया गर्न पनि नहुने भन्नुभयो”, उहाँले थप्नुभयो, “पछि घरमा सबैलाई थाहा भयो, मेरो उमेरमा भन्दा धेरै उचाइ र तौल पनि बढ्यो, स्कुल जान मन लगाग्ने, मानसिक रूपमा धेरै असर पर्‍यो ।”

तीन वर्षसम्म काकाबाट यौन दुव्र्यवहार भइरह्यो । उहाँलाई १४ वर्षमा पुनःस्थापना केन्द्रमा लगेर राखियो ।  त्यसपछि विस्तारै सामान्यजस्तै भयो । अहिले ती युवाको स्वास्थ्य अवस्था ठीक छ । “म अहिले ठीक छु, तर बेलाबेलामा केटा मान्छे देख्नैबित्तिकै धेरै नै डर लाग्छ, पुरानो दिन याद आउँछ, असाध्यै पीडा हुन्छ”, २२ वर्षीय उहाँले भन्नुभयो, “यस्तो कुरा सुन्दा अहिले पनि डर लाग्छ, अहिले एयर होस्टेज पढ्दैछु, ठीक छु ।”

कलिलो उमेर बालकहरू अलि ठूला उमेरका केटा वा पुरूषबाट प्रताडित भएका यस्ता धेरै घटनाहरू छन् । जुन बाहिर आउन सकेका छैनन् । बालबालिकाको क्षेत्रमा काम गर्ने साथसाथ नामक संस्थाले यौन शोषणमा परेका बालकलाई उद्धार, सामाजिक पुनःस्थापना, मनोसामाजिक मनोविमर्श गर्ने काम गरिरहेको छ । विसं २०७४ मा यौन शोषणमा परेका १२ वटा बालकका घटनालाई लिएर ‘म पनि नभनिएका कथाहरू’ नाम पुस्तक समेत प्रकाशन गरेको छ । ती घटनामा अनौठो तरिकाले आफन्त पुरूषबाटै बालकहरू हिंसामा परेको र त्यसले मानसिक र शारीरिकरूपमा गम्भीर असर परिरहेको देखाएको छ ।

साथसाथ संस्थाकी स्रोत व्यक्ति कविता शाहले बालकहरूको संरक्षण गर्ने उद्देश्यले १६ वर्षदेखि काम गरिरहेको सुनाउनुभयो । “कतिपय अवस्थामा बालकहरूलाई होटलबाट पनि उद्धार गरेका छौँ”, उहाँले यौन हिंसामा परेका बालकको अवस्थाबारे सुनाउँदै भन्नुभयो, “एक पटक बालकलाई यौन दुव्र्यवहार भएको खबर आयो, होटलबाट उद्धार गरेर ल्यायौँ, त्यो भाइले यौनाङ्गमा घाउ र दुखाइले प्याड लगाएको रैछ ।”

समाजमा बालकमाथि पनि यौन दुव्र्यवहार भन्ने कल्पना गरिँदैन । बालिकामाथि मात्रै दुव्र्यवहार हुन्छ भन्ने चेत र सोचको विकास भएको छ । भित्रभित्रै बालकहरू सानो उमेरमै शारीरिक र मानसिक पीडा भोगिरहेका छन् । “बालकहरूको न्यायका लागि बोल्ने बेला भएको छ, उनीहरूमाथि भएको हिंसाले मानसिकरूपमा पर्ने अवसरजस्ता गतिविधिलाई रोकथाम जरूरी छ”, शाहले थप्नभयो, “पुरूषले पुरूषलाई बलात्कार गर्‍यो भने कानुन छैन, अप्राकृतिक मैथुनमा पनि प्रष्ट कानुन छैन, बालकलाई पनि संरक्षण गर्न कानुन बनाउन जरूरी छ ।”

विद्यमान कानुनमा भएका कमजोरीलाई संशोधन गर्दै बालकमाथि यौन हिंसालाई समयमै रोक्न ध्यान दिनुपर्ने देखिन्छ । साथसाथले बालबालिकाको क्षेत्रमा काम गर्न सुरू गरेको २७ वर्ष भएको छ भने बालकमाथि हुने यौन हिंसाविरूद्ध १६ वर्षदेखि काम गर्दै आएको छ । “महिला तथा बालिका मात्र यौन दुव्र्यवहारमा पर्छन् भन्ने समाजको सोच छ, पुरूषहरू पुरूषबाटै यौन हिंसामा पर्छन् भन्ने चेतना छैन”, उहाँले थप्नुभयो, “हुर्काउने क्रममा दुवैलाई दुव्र्यवहार हुनसक्छ, एउटा केटाले केटालाई नै यौन दुव्र्यवहार गर्नसक्छ भने सचेत गराउन जरूरी छ ।”

बालमनोविज्ञानमा कस्तो अवसर पर्छ ?

वरिष्ठ मनोविद् चेतना लोपसाङ्गका अनुसार बाल्यकालमा बालक यौन हिंसामा पर्दा हीनताबोध हुने, धेरै रिसाउने र डराउनेजस्ता समस्याहरू देखिन्छ । “बालकमा ममाथि यत्रो याताना हुँदा पनि मेरो शक्ति रहेनछ भन्ने खालको महसुस हुन्छ, रिसाहा हुने, कसैले धेरै खाने, कसैले खानै नखाने, चिटचिटहाट खालको व्यवहार देखिन्छ”, उहाँले भन्नुभयो, “बच्चाहरूले डर, त्रासका कारणले आफूलाई भइरहेको दुव्र्यवहारबारे भन्न पनि सक्दैनन्, व्यक्तित्व स्वभावमा परिर्वतन हुने, कति लामोसम्म, कुन तरिकाले दुव्र्यवहारमा पर्‍यो भन्ने कुराले मानसिकरूपमा विक्षिप्त पार्छ ।”

बालकलाई पनि स्कुलमै शिक्षक, विद्यार्थी र अभिभावक राखेर राम्रो छुवाइ वा गलत छुवाइको पनि शिक्षा दिनुपर्ने जरूरी देखिन्छ । आफ्ना परिवारले पनि बच्चाहरूको अवस्थाबारेमा जान्न बुझ्नुपर्ने जरूरी छ । “अभिभावकले यौन दुव्र्यवहारमा परेमा साङ्केतिक चिह्नहरूका बारेमा पनि जानकारी गराइराख्नुपर्छ, बच्चाहरूलाई आफूले चिनेका मानिसहरूबाट यौन दुव्र्यवहार बढी हुन्छ भन्ने बुझाउन जरूरी छ”, मनोविद् लोपसाङ्गले  थप्नुभयो, “बच्चाहरूले भन्न खोजेको कुरालाई ध्यानपूर्वक सुन्ने गर्नुपर्छ, बुबाआमाले विश्वास नगरेपछि बच्चाले भन्न नसक्ने अवस्था हुन्छ, असाध्यै नजिकैबाट बच्चाले भन्न सक्ने माहोल सिर्जना गर्नुपर्छ ।”

बालकहरूमाथि यौन हिंसा रोक्न सदनमै कुरा उठाइरहेका छौँ : सांसद श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यो विषयमा काम गरिरहेको छ । सङ्घीय संसद्अन्तर्गतको महिला तथा सामाजिक समितिले पनि बालकमाथि हुने हिंसा न्यूनीकरणका लागि काम गरिरहेको छ ।

महिला तथा सामाजिक समितिका सदस्य शान्ति श्रेष्ठका अनुसार बालकहरूमाथि पनि हिंसा भइरहेको हुँदा रोकथामका लागि आवश्यक कानुन जरूरी छ भनेर सदनमै कुरा उठिरहेको छ । “बाल सुधारगृहमा पनि सबैजसो बालकहरू नै हुन्छन्, हामीले अनुगमन गरेर अध्ययन प्रतिवेदनहरू पनि निकालेर सरकारलाई कार्यान्वयनका लागि निर्देशन समेत दिइसकेका छौँ”, सांसद श्रेष्ठले भन्नुभयो, “बालकमाथि यौन हिंसाको घटना न्यूनीकरण गर्नका लागि सदनमा कुरा उठाउने काम पनि गरिरहेको छौँ, समाजमा बालिकामाथि मात्र नभएर बालकमाथि पनि यौन हिंसा हुने गरेको छ, सबैले न्यूनीकरणमा ध्यान दिनुपर्छ ।”

बालकमाथि हुने यौन हिंसा रोक्न कानुन संशोधन जरूरी छः अधिवक्ता लामा

अधिवक्ता बिनु लामाका अनुसार सामाजिक कलङ्कको डर, पुरूषमैत्री कानुनी प्रावधानको अभाव, केटाहरूलाई बलियो हुन्छन् भन्ने सामाजिक सोचका कारण बालकहरू आफूमाथि भएको यौन हिंसाका बारेमा खुलेर भन्न सक्दैनन् ।

यौन हिंसा कसैको सहमति बिना कसैमाथि गरिएको यौन क्रियाकलाप (जबर्जस्ती, फकाउने, प्रभावित पार्ने), जबर्जस्ती करणी, यौन दुव्र्यवहार, बाल यौन दुव्र्यवहार, व्यभिचार, यौन उत्पीडन, यौन शोषण पर्दछन् । यौन हिंसा विश्वमा नै मानवअधिकार उल्लङ्घनको एउटा गम्भीर घटना हो । विश्वभरिमा नै यौन हिंसा एउटा जटिल समस्याको रूपमा देखिएको छ ।

“यौन हिंसाका बहुसङ्ख्यक प्रभावित महिला तथा बालिकाहरू भए पनि यसले महिला, पुरूष, बालिका, बालक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समेतलाई प्रभावित पारको छ”, अधिवक्ता लामाले भन्नुभयो, “सबै उमेर समूह, शारीरिक अवस्था, यौनिकता तथा यौन पहिचानका व्यक्तिहरू प्रभावितहरू हुने गरका छन् ।”

नेपालको संविधानको मौलिक हकको धारा ३९ मा बालबालिकाको हक रहेको छ । यसमा भनिएको छ, “कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन ।”

मुलुकी अपराध संहिता–२०७४ मा करणीसम्बन्धी कसुरको दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा १८ वर्षभन्दा कम उमेरको कुनै बलिकालाई निजको मञ्जुरी लिएर करणी गरेमा त्यस्तो कार्य जबर्जस्ती करणी मानिनेछ भन्ने व्यवस्था छ तर केटाकेटाबीच हुने दुव्र्यवहारको कही पनि व्यवस्था गरिएको छैन ।

संहिताको दफा २२५ (२) मा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ भनी उल्लेख छ । यस्तो कार्य गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रू ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

बालकविरूद्ध हुने यौन हिंसा बढ्दै गएको भए पनि अधिकांश बेवास्ता गरिएको कारण यकिन तथ्याङ्क छैन । यस्ता घटनाहरू एकदम कम मात्र बाहिर आउने गरेको हुँदा बालकहरू यौन हिंसाको सिकार भइरहेका छन् । केटाबाट केटालाई यौन दुव्र्यवहार हुन्छ भन्ने सोच राखेर कानुनी व्यवस्था गरी बालकलाई न्याय दिन जरूरी छ । रासस