काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राजीव गुरूङ उर्फ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश भएको हो ।
गत कात्तिक २० मा सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए ।
उनीमाथि अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि नै उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने थियो । अदालतको आदेशसँगै त्यसमा उनले २० प्रतिशत छुट पाउने भएका छन् ।










