२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

आधुनिक कृषि प्रणाली अपनाउँदै पाल्पाका कृषक

आधुनिक कृषि प्रणाली अपनाउँदै पाल्पाका कृषक
अ अ+ अ-

रामपुर । कृषि व्यवसायबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पाल्पा रामपुरका कृषकहरू पम्परागत खेती प्रणाली त्यागेर आधुनिक प्रविधिलाई पछ्याउन थालेका छन् । परम्परागत कृषि प्रणालीले उनीहरुको आम्दानी बढ्ने नभई दैनिकी मात्र सञ्चालन हुने भएकाले यहाँका कृषकले कृषिकर्मबाटै गतिलो आयआर्जनको उपाय निकाल्न थालेका हुन् । आधुनिक कृषि प्रणालीबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचले उनीहरुले कृषिको आधुनिकीकरणमा जोड दिएका हुन् ।
    
रामपुर नगरपालिका वडा नं १०, हेक्लाङ्गका रामचन्द्र भण्डारीले आधुनिक प्रविधिबाट तरकारी खेती गर्न टनेल निर्माण गर्नुभएको छ । यसभन्दा अगाडि सामान्यरुपमा कृषि गरेर जीविका धान्ने भण्डारी आयआर्जन वृद्धिका लागि नयाँ प्रविधिबाट तरकारी लगाउने तयारी गर्दै हुनुहुन्छ । 
       
“पहिला प्रविधि नजान्दा सामान्य तरिकाले तरकारी लगाइन्थ्यो, उत्पादन खासै हँुदैनथ्यो, घरायसी प्रयोजनका लागि मात्र हुने अथवा गुजारा मात्र चल्ने गर्दथ्यो तर अब आयस्रोत बढाउनका लागि नयाँ प्रविधिका रुपमा टनेल बनाइएको छ”, उहाँले भन्नुभयो । यो नयाँ प्रविधिबाट उत्पादन बढ्ने र आम्दानी पनि हात पार्न सकिनेमा उहाँ ढुक्क हुनुहुन्छ ।  
       
गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनमा आएपछि नयाँ प्रविधि सिकेका हेक्लाङ्ग क्षेत्रका सबैजसो घरमा अहिले टनेल बनाइएको छ । यस कार्यक्रममा आबद्ध ८३ घरधुरीका कृषकका घरमा न्यूनतम एक÷एक वटा टनेल निर्माण गरिएको छ ।
       
यहाँका कृषक अहिले बेमौसमी जातका तरकारी लगाउने तयारीमा छन् । टनेलभित्र लहरेबाली तरकारी लगाउने तयारी गरेको अर्का कृषक लक्ष्मण पन्तले बताउनुभयो । उहाँले यसभन्दा अघि मेहनत गरेर तरकारी लगाउने गरे पनि बिक्री गर्ने गरी उत्पादन नहँुदा तरकारी खेतीबाट आम्दानी लिन सक्नुभएको थिएन । गाउँमै बसेर स्मार्ट कृषि कार्यक्रममार्फत नयाँनयाँ प्रविधि सिक्न पाएपछि तरकारी उत्पादनमा वृद्धि हुने आशा गर्नुभएको छ ।
       
उहाँ भन्नुहुन्छ, “दुःख गरेर तरकारी लगायो, गोडमेल, बीउबिजनमा खर्च ग¥यो तर राम्रोसँग फल्दै नफलेर दिक्क हुन्थ्यो, पुरानो परम्परा छाडेर अहिले तरकारी लगाउने नयाँ प्रविधि, उन्नत जातका बीउबिजन, रोग किरा लागेमा उपचार पद्धतिसम्बन्धी प्राविधिकबाट ज्ञान सिक्न पाएपछि टनेलभित्र तरकारी लगाउने तयारीमा छु ।” 
       
सामान्य रोग किरा लागि हालेमा कृषकले पहिचान गर्न नसक्नु, उन्नत जातका बीउबिजन प्रयोग नगर्नु, पुरानै परम्पराले खेती गर्दा यहाँका कृषकले व्यवसायमा ठूलो लगानी गरे पनि आम्दानी भने लिन सकेका थिएनन् । स्मार्ट कृषि कार्यक्रममार्फत बेलाबेलामा प्राविधिक घरघरमा पुगेर प्रविधि सिकाउन थालेपछि पुरानो अथवा परम्परागत खेतीको काम यहाँका कृषकले छाड्दै गएका छन् । खेती गर्न स्मार्ट कृषि कार्यक्रम सहयोग गरेपछि कृषि कार्यमा कृषकको उत्साह बढ्दो छ । 
       
प्रदेश नं ५ सरकारद्वारा यहाँ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रममा हेक्लाङ्ग क्षेत्रका ८३ घरधुरीका कृषक समावेश भई कृषि कार्य गर्दै आएका छन् । करिब ५२१ रोपनी क्षेत्रफलमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ । 
       
सबैका घरघरमा टनेल निर्माणको काम सम्पन्न भएर अब बेमौममी जातका तरकारी लगाउने तयारीमा रहेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष नोलराज भण्डारी बताउनुहुन्छ । धान, मकै र तरकारी बालीलाई मुख्य प्राथमिकता दिएर कृषकले काम गरिरहेका छन् । 
       
टनेलभित्र खेती गर्न कृषकलाई ट्याङ्की, तरकारी टिप्ने क्यारेट, थोपा सिँचाइ पाइप, प्लाष्टिक टनेल वितरण गरिसकिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । टनेलभित्र तरकारी लगाउनका लागि विभिन्न जातका बीउबिजन तथा विरुवा वितरणको कार्यक्रम रहेको छ । 
       
रामपुर नगरपालिकाले यस वर्ष स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि रु १० लाख रकम विनियोजन गरेको नगर प्रवक्ता हुमनाथ न्यौपानेले बताउनुभयो । नगरपालिकाको तर्फबाट कृषकलाई दक्ष बनाउन र कृषि कार्यमा थप जोश जाँगर बढाउन कृषि कार्यशाला गोष्ठी, तालिम सञ्चालनका लागि सहयोग गर्ने उहाँको भनाइ छ । 
       
शहर बजारदेखि टाढा रहेका यहाँका कृषकले बाउबाजेको पालादेखि नै कृषिकर्म गर्दै आएका थिए । रामपुर नगरपालिकाले स्मार्ट कृषि गाउँ कार्यक्रम सफल बनाउन र एक वडा एक उत्पादनलाई जोड दिएर वडावडामा कृषि प्राविधिक परिचालन गरिएपछि कृषकले नयाँ प्रविधि सिक्ने अवसर पाएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।
       
स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको पहिलो र दोस्रो वर्षको कार्यक्रम पूरा गरी तेस्रो वर्षमा शुरु हुँदैछ । चार वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमको अबको समय उत्पादनमा आधारित रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । 
       
प्रदेश सरकारले जिल्लाका दुई निर्वाचन क्षेत्रअन्तर्गत चार ठाउँमा कार्यक्रम सञ्चालन गरेको छ । गाउँमा नयाँ प्रविधिबाट कृषि कार्य गर्ने र नमूना कृषि गाउँका रुपमा स्थापित गरी कृषिबाटै नागरिकको आयस्तर उकास्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा आएको हो ।
       
स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषकलाई नयाँ प्राविधिकको ज्ञान र सीपसँगै आयआर्जनमा ठूलो टेवा पुग्नेछ । चार वर्षसम्म निरन्तर कृषकमाझ सञ्चालन हुने भएकाले कृषकले यस कार्यक्रमबाट राम्रो आर्थिक लाभ लिन सक्नेछन् । बजारबाट तरकारी किनेर खाने कृषक अहिले घरघरमै उत्पादन गरी बजारमा लैजाने सोचका साथ काम गरिरहेका छन् ।
       
प्रदेश नं ५ कै नमूना तिनाउ गाउँपालिका–२ को झ्याङ्लाफाँटमा चलेको स्मार्ट कृषि गाउँ कार्यक्रममा यहाँका ८३ घरपरिवारका कृषकलाई लक्षित गरी सञ्चालन गरिएको छ । यहाँ धान, मकै, तरकारी खेतीसँगै माछापालन र कुखुरापालन व्यवसायलाई प्राथमिकता दिइएको समितिका अध्यक्ष चोपलाल गिरी बताउनुहुन्छ ।
       
रम्भा गाउँपालिकाको वडा नं १ हुँगी क्षेत्रमा चलेको स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत ८३ घरधुरीका कृषकलाई आत्मनिर्भर बनाउन धान र तरकारी खेतीलाई प्राथमिकता दिइएको छ । करिब ३७६ रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिबाट कृषि उत्पादन वृद्धि गरी कृषकको आयस्तर उकासिने जस्ता कार्यक्रम सञ्चालन गरिएको हुँगी स्मार्ट कृषि गाउँ कार्यान्वयन इकाइ समितिका संयोजक केदारप्रसाद बस्यालले बताउनुभयो ।
       
तानसेन नगरपालिका वडा नं १४ स्थित अर्गली क्षेत्रमा भने बाख्रापालनमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको छ । यहाँ ७० घरपरिवारका कृषक आबद्ध छन् । उन्नत जातका बाख्रापालनमा कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन भइरहेका छन् । 
       
यो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले एक क्षेत्रमा ५० लाख रुपैयाँका दरले दुई करोड रकम विनियोजन गरेको छ । सिँचाइ, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापनसँगै बजारीकरणमा समेत यस कार्यक्रमबाट सहयोग पुग्नेछ । 
       
प्रदेश सरकारद्वारा यस कार्यक्रममा छनोटमा परेका क्षेत्रमा तीन पटकसम्म खेती गर्ने र चौथो वर्षमा भने उत्पादन गरी बजारसम्म पु¥याउनुपर्नेछ । पहिलो र दोस्रो वर्षको कार्यक्रम सम्पन्न गरी तेस्रो वर्षमा कार्यक्रम लागू हँुदैछ । आगामी वर्षमा भने यस कार्यक्रममा आबद्ध कृषकले उत्पादित वस्तु बजारीकरणमा लैजानुपर्नेछ । आधुनिक प्रविधिबाट उत्पादन गरी नमूना गाउँका रुपमा विकास गरिनुपर्ने अवधारणाअनुरुप यो कार्यक्रम सञ्चालनमा आएको हो । 
       
गाउँगाउँमा नयाँ सोंचका साथ ठूलो लगानीमा पहिलो पटक यस कार्यक्रम सञ्चालनमा आएपछि कृषकले खेती प्रणालीमा नयाँ प्रविधिको प्रयोग र उनीहरुमा उत्साह बढ्दै गएको पाइएको कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो । 
       
पहिलो वर्ष हरेक स्मार्ट कृषि गाउँलाई सरकारले ५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरियो । स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालनका लागि पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी र कृषक समूह (कार्यक्रम सञ्चालन भएको समिति) ले लगानी गरेर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान छ । 
       
कृषि कार्यका लागि सरकारले यसभन्दाअघि रकम लगानी गरे पनि त्यो पर्याप्त नहुनु, पहुँचवालाका आधारमा मात्र सेवासुविधा उपलब्ध गराउने परिपाटीले लगानीअनुसारको कृषकले प्रतिफल दिन सकिरहेका थिएनन् । कतिपय कृषकले अनुदान पाउँदासम्म खेती र अनुदान पाउन छाडेपछि व्यवसायबाटै पलायन पनि भएका छन् ।
       
कतिपय ठाउँमा युवा स्वरोजगार, अनुदान, बीउबिजन वितरण, कृषि सामग्री वितरण जस्ता कार्यक्रममा पहुँचवाला व्यक्ति मात्र सहभागी हुन पाउने हुँदा वास्तविक कृषक पछि परिरहेका छन् । यस्तो परिवेशमा प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रमले साना र वास्तविक कृषकलाई सहभागी हुने राम्रो अवसर मिलेको छ । 
       
पहिला राज्यको कुनै पनि सेवासुविधा नपाएका वास्तविक कृषकले अहिले गाउँमा नयाँ प्रविधिबाट खेती प्रणाली सिक्ने र विभिन्न कृषिजन्य सामग्री पाउँदा व्यवसायमा उत्साहित बनेका छन् ।