२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

दुबईमा नेपथ्यको नयाँ उचाइ

दुबईमा नेपथ्यको नयाँ उचाइ
अ अ+ अ-

दुबई: भव्य वातावरणभित्र अलग-अलग पृष्ठभूमिका मगनमस्त दर्शक, उनीहरूले लामो समयदेखि मन पराउँदै आएको सङ्गीत अनि भएभरका सबैलाई बाँध्ने नेपालीपन । दुबईको आधुनिक हलमा आइतबार नेपथ्यले लोकरक गीतहरूमार्फत दर्शकलाई भरपूर मनोरञ्जन दिएको छ ।

 ‘संसार अटाएको व्यस्ततम् सहरमा नेपाली आयोजना यति भव्यसँग सम्पन्न भएकामा हाम्रो टिम एकदमै सन्तुष्ट छ,’ कन्सर्टपछि आयोजक इजी ग्रुपका श्री लामिछानेले प्रतिक्रिया दिए, ‘कार्यक्रमको प्रस्तुति, प्राविधिक संयोजन र दर्शक सहभागिता सबै हिसाबले दुबईमा हुने नेपाली कार्यक्रमका लागि यो नयाँ मानक भएको छ ।’

आइस हकी खेलिने कभर्ड हलमा अघिल्ला कन्सर्टहरू गर्दै आएको ब्यान्डले यो पाला पहिलो पटक इन्टरनेट सिटीस्थित ‘दी एजेन्डा’ रोजेको थियो ।

 ‘नेपथ्यको सानदार प्रस्तुतिले यो वर्ष हाम्रो इभेन्ट सिजनको सुरुवातै भव्य भयो,’ दी एजेन्डा‘ हलको प्रोडक्सन डिपार्टमेन्टका प्रमुख साहबाज ओमर थप्छन्, ‘स्वयं ब्यान्डकै पनि हामीबाट थप अपेक्षा भए फेरि स्वागत गर्न इच्छुक छौं ।’

 यहाँस्थित मणिपाल युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रिसेन अध्ययनरत दर्शक वन्दना थापा कार्यक्रमपछि भन्दै थिइन्, ‘नेपथ्यको कन्सर्ट हेर्नु सङ्गीतको आनन्द लिनु मात्र नभई सिङ्गो नेपाल र नेपालीपनकै उत्सव मनाउनु जस्तो हुन्छ । जसको सम्झना बाँचुन्जेल रमाइलो बनेर मनमा बस्छ ।’

 वन्दनाजस्ता दर्शकको भावनालाई थप सम्मान गर्न पछिल्लो समय स्थानीय आयोजकले कन्सर्टसँग विभिन्न गतिविधि जोड्न पनि थालेका छन् ।

 यो पटक त्यस्तो गतिविधिको केन्द्रमा रहे पाकिस्तानको लाहोरबाट दुबई आएका तन्नेरी आतिफ असलम ।

स्थानीय आयोजकले कन्सर्टअघि दुबईका दर्शकमाझ नेपथ्यका गीत आफ्नो स्वरमा रेकर्ड गरेर पठाउने प्रतिस्पर्धा पनि चलाएका थिए । त्यसमा आतिफले ‘रातो र चन्द्रसुर्जे’ गीत सामेल गराए र पुरस्कृत बने । उनले टिकटकमा समेत राखेको यो गीत अहिलेसम्म करिब ३५ हजारले हेरिसकेका छन् भने पाँच हजारले लाइक गरिसकेका छन् । यो सफलताबापत उनले नेपथ्य कन्सर्ट हेर्ने मात्र नभई यसका मुख्य गायक एवं अगुवा अमृत गुरुङसँग व्यक्तिगत तवरले भेटघाट गर्ने अवसर पनि पाए  । गुरुङ सँगको भेटघाटको क्षण पनि उनले टिकटकमा राखिसकेका छन्, जसलाई १२ घण्टाभित्रै १७ सय जनाले लाइक गरिसकेको देखिन्छ । त्यसमा उनले लेखेका छन्, ‘नेपालके पहाडोंसे पाकिस्तानके वादियोंतक, दोस्तीका एक नयाँ नगमा ।’

 ‘मञ्चबाट यति धेरै ऊर्जा प्रवाह गराउने कन्सर्ट मैले आजसम्मै अनुभव गरेको थिइनँ,’ आफ्ना गीतहरू टिकटकमा राख्दै आएका र केही समययता नेपथ्यका गीत पनि सुन्न थालेका आतिफले कन्सर्टपछि प्रतिक्रिया दिए, ‘अमृत गुरुङको प्रशंसा सायद मेरा शब्दले मात्र सम्भव नहोला ।’

 दुबई कन्सर्टको राप र ताप सुरुवातदेखि अन्त्यसम्मै देखिन्थ्यो । घडीले औँल्याउनासाथ दर्शकले भरिएको हलमा प्रवेशगरेका गायक अमृतले पहिलो गीत ‘कोशीको पानी’ गाउन सुरु गरे । त्यसपछि सुरु भएको दर्शक उत्साह र जोस अन्तिम गीत ‘रातो र चन्द्रसुर्जे’ सम्मै कायम रह्यो ।

त्यस बीचमा अमृतले आफ्ना धारणाहरूमार्फत समेत तमाम दर्शकलाई नेपालसँग जोड्ने प्रयत्न गरिरहे । प्रकृतिले हिमाल, पहाड र उर्वर तराई दिएको धनी देश भएर पनि मरुभूमिमा परिश्रम गर्न आउनुपरेका नेपालीको बाध्यतामा उनले बारम्बार थकथकी माने । त्यसै गरी आफ्नो मातृभूमिलाई परेको बेला मनले जति इच्छा हुन्छ, त्यति सहयोग गर्न पनि उनले अभिप्रेरित गरे ।

 ‘कन्सर्टबाट जति अपेक्षा गरेको थिएँ, त्योभन्दा निकै बढी सन्तुष्टि महसुस गर्दै छु,’ अर्की दर्शक सुर्जना कार्की भन्दै थिइन्, ‘पहिलोपटक नेपथ्यको दर्शक बनिरहँदा गीतसँगसँगै नेपालीपनको पनि यति आनन्द लिन पाइन्छ भन्ने सोचेकी थिइनँ ।’

 कन्सर्टमा अन्य इमिरेट्सहरू विशेष गरी आबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएका थिए ।

 ‘चार वर्ष र सात वर्ष पहिले दुबईमा आयोजना भएका कन्सर्ट हेर्न पनि यसै गरी आएकी थिएँ,’ आबुधाबीबाट सात जना साथीहरूको समूह बाँधेर उपस्थित भक्तपुर सूर्यविनायककी ब्युटिसियन कोपिला तामाङ भनिरहेकी थिइन्, ‘सधैँजस्तै म मात्र होइन, हामी सबै साथी नेपथ्य अनुभव गरेर असाध्यै रमाएका छौँ ।’

 ललितपुरबाट आई दुबईमा १० वर्षदेखि विमान परिचारिका रहेकी नमुना वाद्यकार भने दुई घण्टाको कन्सर्टले थप भोक जगाएपछि गाडीको यात्राबाट घर पुगिसकेर पनि नेपथ्यकै गीत सुनिरहेको बताइरहेकी थिइन् ।

कन्सर्टमा भने सङ्गीत मात्र नभई व्यवस्थापनका मिहिन प्रयासहरूले प्रदान गर्ने उत्कृष्ताटताको अनुभूति पनि गर्न पाइएको उनको भनाइ थियो ।

 मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

 दुबई कन्सर्ट सम्पन्न भएपछि अब नेपथ्य राजधानी काठमाडौँका दर्शकमाझ उपस्थित हुँदैछ । आगामी साता असोज २४ शनिबार ब्यान्डले आफूलाई उपत्यकाको दक्षिण पश्चिमी कुनास्थित कीर्तिपुरमा उभ्याउने तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ । त्यहाँस्थित ल्याब स्कुलको मैदानमा कन्सर्ट हुनेछ ।

 त्यसपछि भारतको सिक्किम र फेरि नेपालका छ सहरमा प्रस्तुतिका लागि ब्यान्डले आधिकारिक वेबसाइटमा तालिका प्रकाशित गरिसकेको छ । त्यसै गरी यही वर्ष अस्ट्रेलियामा पनि शृङ्खलाबद्ध यात्रा गर्ने प्रारम्भिक जानकारी ब्यान्डले दिइसकेको छ ।

 यी तमाम कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।