अम्मान। जोर्डनले थप चिनियाँ पर्यटक आकर्षित गर्न पर्यटन पूर्वाधारको स्तरोन्नति तथा पर्यटकमैत्री सेवामा सुधारका प्रयास तीव्र पारेको पर्यटन तथा पुरातात्विक मामिला मन्त्री इमाद हिजाजिनले बताउनुभएको छ ।
सिन्ह्वासँग हालैको अन्तर्वार्तामा हिजाजिनले जोर्डनका समृद्ध पुरातात्विक तथा प्राकृतिक सम्पदा र संस्कृति, शिक्षा, चिकित्सा तथा साहसिक पर्यटनका विविध सम्भावनाबारे चर्चा गर्दै चिनियाँ पर्यटकका लागि पूर्वाधार सुधार तथा सेवाको गुणस्तर अभिवृद्धि भइरहेको बताउनुभयो ।
उहाँका अनुसार चिनियाँ पर्यटकलाई लक्षित गर्दै चिनियाँ भाषा बोल्ने पर्यटक गाइडलाई तालिम दिने काम भइरहेको छ । साथै, पर्यटनस्थल तथा सार्वजनिक क्षेत्रमा चिनियाँ भाषामा सडक सङ्केत र सूचना बोर्ड राख्न थालिएको छ ।
जोर्डन पर्यटन बोर्डले चीनमा प्रतिनिधि कार्यालय स्थापना गर्नुका साथै आफ्नो वेबसाइटको चिनियाँ भाषाको संस्करण पनि सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
हिजाजिनका अनुसार जोर्डनका राजा अब्दुल्ला द्वितीयको गत अगस्टमा भएको चीन भ्रमणका क्रममा भएका सहमति तथा समझदारीलाई कार्यान्वयन गर्ने काम भइरहेको छ । यसअन्तर्गत रोयल जोर्डन एयरलाइन्समार्फत अम्मान–बेइजिङ सीधा उडान सञ्चालनको तयारी भइरहेको छ ।
त्यसैगरी, सन् २०२७ मा जोर्डन र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने कार्यक्रमअन्तर्गत आगामी वर्ष जोर्डनमा ‘चिनियाँ नयाँ वर्ष’ उत्सव आयोजना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
“पर्यटन सहयोगले हाम्रा दुई देशका जनतालाई नजिक ल्याउन र आपसी समझदारी बढाउन पुलको काम गर्न सक्छ,” हिजाजिनले भन्नुभयो ।
उहाँले पुरातत्व तथा सांस्कृतिक सम्पदा संरक्षणका क्षेत्रमा जोर्डन र चीनबीच थप बलियो सहकार्य हुने अपेक्षा पनि व्यक्त गर्नुभयो ।
चीनले पछिल्ला वर्षमा विज्ञान तथा प्रविधिको क्षेत्रमा तीव्र प्रगति गरेको उल्लेख गर्दै हिजाजिनले चिनियाँ पक्षसँगको सहकार्यले जोर्डनलाई पुरातात्विक स्थलको अनुगमन, अभिलेखीकरण र विश्लेषणमा सुधार गर्न सहयोग पुग्ने बताउनुभयो ।
यस्तो सहकार्यले जोर्डनका पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि अझ प्रभावकारी समाधान विकास गर्न पनि मद्दत पुग्ने उहाँको भनाइ थियो । (रासस/सिन्ह्वा)








