२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नुपर्नेः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताउनुभएको छ ।

आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सङ्कटग्रस्त दलित समुदायलाई जमिन र घरबासको व्यवस्था राज्यले गर्ने बताउनुभयो । संविधानले नै गरेको यो व्यवस्था जिल्ला जिल्लामा भूमि आयोग गठन हुने बित्तिकै कार्यान्वयनमा आउने पोखरेलले स्पष्ट पार्नुभयो ।

दलित समुदायले आफ्नो सिप र पेसालाई व्यवसायीक बनाउने कुरामा पनि ध्यान दिनु पर्ने उहाँले बताउनुभयो । अन्यथा जीवन विकासमा नै समस्या पर्ने उहाँले स्पष्ट पार्नुभयो । समाज रूपान्तरणको लाग पनि यो जरुरी रहेको पोखरेलले बताउनुभयो ।

दलित समुदायको भोट कहाँ जान्छ भन्ने कुरा मतदानको अघिल्लो दिन मात्र थाहा हुन्छ भन्ने मानसिकताले गर्दा दलित समुदायमा राजनीतिक सशक्तीकरण हुन नसकेको उहाँले बताउनुभयो । दलित समुदाय संगठित हुने हो भने राजनीतिक नेतृत्व विकास हुने पोखरेलको धारणा छ । ‘समुदायको नेताको वरिपरि समुदाय संठित हुनु पर्‍यो, संगठित जीवनमा हामी जति जोडिन सक्छौँ त्यति नै समुदाय सशक्त हुन्छ’, उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तन भइसकेकोले सामाजिक, आर्थिक र सांस्कृतिक सशक्तीकरण अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाली समाज उदार समाज भएकोले सामाजिक रूपान्तरण सजिलै गर्न सकिने उहाँले दाबी गर्नुभयो ।

पोखरेलले विभेद अन्त्य र आर्थिक, सामाजिक सशक्तीकरणमा अब ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । राज्यले सामाजिक समानताको लागि गर्नुपर्ने सबै काम गरिसकेको भए पनि हाम्रा सांस्कृतिक मान्यतासँग विभेद जोडिएका उहाँले बताउनुभयो । त्यसैले अब सामाजिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा काम गर्नुपर्नेमा उहाँको जोड छ । सामाजिक विभेदबाट मुक्त हुनको लागि आर्थिक रूपमा सबल हुन पनि त्यतिकै जरुरी रहेको उहाँले बताउनुभयो ।