१५ श्रावण २०८३, शुक्रबार
,
Latest
समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन हेटौँडामा शनिबार सद्भाव र्‍याली गरिने विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड प्रदेशहरूको सशक्तिकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाई सूचना माग्दा सर्तमाथि सर्त थप्दै केयूकेएल, संविधानविद् भन्छन् ‘असंवैधानिक’ फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध मध्यपूर्व तनावको असरः युरो क्षेत्रमा मुद्रास्फीति वृद्धि चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक चितवनमा सामाजिक सद्‌भाव र्‍यालीको आयोजना गरिने सामाजिक एकता र सद्भाव कायम राख्न कास्कीका दलको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विविधतामा एकता नै हाम्रो शक्ति हो, यसलाई खल्बलिन दिनु हुँदैन’: पूर्वराष्ट्रपति डा. यादव



अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ ।

मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गर्नुभएको भेटघाटपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा. यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

शितल निवासमा भएको उक्त छलफलमा पूर्वराष्ट्रपति यादवसहित पूर्वउपराष्ट्रपति परमानन्द झा लगायत विशिष्ट पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

पूर्वराष्ट्रपति यादवले सुनसरीमा दुई समुदायबीच भएको घटनापछि तराईका जिल्लामा भएको झडप र प्रदर्शनका घटनाहरूमा तीन जना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति सम्वेदना प्रकट गर्नुभयो ।

उहाँले राज्यका निकायहरूले समयमै सही सूचना प्राप्त गरी व्यवस्थापन गर्न नसक्दा यस्ता अप्रिय घटना हुने गरेको उल्लेख गर्नुभयो । सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै डा. यादवले राज्यले सबै राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवाहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको डिजिटल र सामाजिक सञ्जालको युगमा सही सूचनासँगै गलत सूचना पनि छिटो प्रवाह हुन्छ । यस्तो अवस्थामा राज्यले समयमै प्रभावकारी कदम चाल्न सकेको भए स्थिति नियन्त्रणमा रहने थियो । हाम्रो भूगोल र समुदायमा विविधता छ, तर सबैभन्दा पहिले हामी नेपाली हौँ । राष्ट्रको हित नचाहने तत्वहरूले कहिलेकाहीँ यस्तो विविधतामा खेल्ने प्रयास गर्छन्, जसमा हामी सचेत हुनुपर्छ । विविधतामा एकता नै हाम्रो शक्ति हो । राज्यले यो शक्तिलाई पहिचान गरी सबै पक्षलाई एकजुट बनाउने कौशल देखाउनुपर्छ । बल प्रयोग गर्नुभन्दा पनि संयमता र समन्वयका साथ समस्याको समाधान खोजिनुपर्छ ।’

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ बनाउनु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै उहाँले कुनैपनि बहानामा सामाजिक विखण्डन हुन नदिन आग्रह गर्नुभयो ।

संकटको घडीमा सरकारलाई मात्र दोष नदिएर समुदाय र सचेत नागरिकले पनि शान्ति र अमनचयन कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलको राष्ट्रिय एकता र सद्भावप्रतिको चिन्तालाई समर्थन गर्दै डा. यादवले देशमा शान्ति स्थापनाका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।– न्युज एजेन्सी नेपाल