काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था स्पष्ट गर्दै १८ वर्ष नपुगेका व्यक्तिको पार्टी सदस्यता तथा निर्वाचित जिम्मेवारी कायम नरहने जनाएको छ।
कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) मा नेपाली कांग्रेसको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि चुनिएका सुजल चापागाईँको उमेर १७ वर्ष पूरा भएको र १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी विधानबमोजिम स्थगन गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार नागरिकताको विवरणअनुसार चापागाईँले आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा गर्नेछन्। त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने स्पष्ट पारिएको छ।
कांग्रेसले अन्य जिल्लाका वडा तहमा भएका निर्वाचनमा पनि यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भएको पाइएमा उनीहरूको हकमा समेत यही प्रक्रिया लागू हुने जनाएको छ।
कांग्रेसका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई विधानअनुसार प्रक्रिया कार्यान्वयन गर्न तथा गराउन जानकारी गराइएको छ।








