७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’

पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’
अ+ अ-

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली पत्रकारिता क्षेत्रको साख र व्यावसायिकतामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पत्रकारिताको गरिमा र साख जोगाउने जिम्मेवारी प्रत्येक पत्रकारको भएको बताए । पत्रकारिता आफैंमा एउटा संस्था भएकाले यसको साख र स्तर उन्नत बनाउने जिम्मेवारी पत्रकारहरूकै भएको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघप्रति लक्षित गर्दै उनले कुनै अमुक संस्थाले पत्रकारिताको ठेक्का लिएर हिँडेको भ्रमबाट मुक्त हुनुपर्ने बताए । पत्रकारिता क्षेत्रको संरक्षण गर्ने जिम्मेवारी लिएको दाबी गर्ने संस्थाले नै क्षेत्रका समस्या समाधान गर्न नसकेको उनको आरोप थियो ।

मन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रको वर्तमान अवस्थाप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै सञ्चार मन्त्रालय सम्हालेदेखि नै यस क्षेत्रका समस्या सुधारका लागि काम गरिरहेको दाबी गरे । पत्रकारिता र सञ्चार क्षेत्रका संस्थागत समस्या समाधान गर्न विद्यमान बेथिति र कमजोरीको मूल कारण पहिचान गर्न आवश्यक रहेको उनले बताए ।

सार्वजनिक सञ्चार संस्थाहरूको अवस्थाप्रति पनि उनले प्रश्न उठाए । अर्बौं रुपैयाँ बराबरको सम्पत्ति भएका संस्थाले समेत कर्मचारीलाई पेन्सन तथा अन्य सुविधा दिन कठिनाइ भोगिरहेको भन्दै उनले संस्थागत सुधारमा गम्भीर हुनुपर्ने बताए ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रजस्ता सार्वजनिक सञ्चार संस्थाको अवस्था कमजोर हुनुको कारण खोज्नुपर्ने बताए । लामो समयदेखि लेखापरीक्षण हुन नसकेको विषयमा समेत प्रश्न उठाउँदै उनले यस्ता संस्थालाई बलियो बनाउन सरकार र सम्बन्धित सबै पक्षले भित्रैबाट सुधारको प्रयास गर्नुपर्ने बताए ।

‘पत्रकारिता भनेको आफैंमा एउटा संस्था हो । यसको साख जोगाएर स्तर उन्नति गरिरहेका छौं कि हरेक दिनको पत्रकारिताले संस्थाको साख कमजोर गरिरहेका छौं भन्ने सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो,’ उनले भने ।

उनले सार्वजनिक सञ्चार संस्थाको सुधार एक–दुई दिनमा सम्भव नहुने भन्दै त्यसका लागि एक–डेढदेखि दुई वर्षसम्म निरन्तर मेहनत गर्नुपर्ने बताए । संस्थाभित्र रहेका बेथिति र गलत अभ्यास नसुधारेसम्म सार्वजनिक सञ्चार संस्था र समग्र पत्रकारिता क्षेत्र सुधार हुन नसक्ने उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले विगतमा भएका गलत निर्णय र अभ्यास सच्याउन सबै पक्ष तयार हुनुपर्ने बताए । आफू सार्वजनिक सञ्चार संस्थासहित समग्र पत्रकारिता क्षेत्रलाई सुधारको दिशामा लैजान प्रयासरत रहेको उल्लेख गर्दै उनले पत्रकारिता क्षेत्रलाई गर्व गर्नलायक क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।