काठमाडौं । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाक निर्माणको काम केही दिनका लागि स्थगित गरिने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने पहिरो तथा सडकमा देखिन सक्ने अन्य जोखिमलाई ध्यानमा राख्दै निर्माण कार्य केही दिन रोक्ने तयारी गरिएको जानकारी दिएका हुन्।
निर्माणाधीन ट्रयाकमा वर्षाका कारण थप क्षति हुन सक्ने तथा यातायात सञ्चालनमा समेत जोखिम बढ्न सक्ने भएकाले तत्कालका लागि निर्माण कार्य स्थगित गरी सडकलाई यातायात सञ्चालनका लागि सहज र सुरक्षित बनाउने तयारी गरिएको मन्त्री लम्सालले बताए।
निर्माण कार्य केही दिन रोक्दा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण हुनुका साथै सडकमा यातायात सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री लम्सालले भारी वर्षा र पहिरोको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अनावश्यक जोखिम नलिन र मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेका छन्।








