काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट निम्तिन सक्ने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको जलसतह र सम्भावित विपद्को अवस्था निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ ।
आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ ।
सम्भावित बाढी खतराको तहमा नदी कहिले पुग्न सक्छ र त्यसबाट कस्तो प्रभाव पर्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उप्रेतीले बताउनुभयो ।
उहाँले नागरिकको मोबाइलमा एसएमएसमार्फत आउने बाढी तथा मौसमसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।
उच्च हिमाली क्षेत्रमा रेड अलर्ट
समुद्रमा बन्ने ठूलो आँधी प्रणाली तथा त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ । मौसम प्रणालीमा तीव्र परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले ‘रेड अलर्ट’ जारी गरिएको छ ।
मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ । जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ ओर्लिन आग्रह गरिएको छ ।
त्यस्तै, ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानका लागि आवश्यक पूर्वतयारीसहित सतर्क रहन आग्रह गरिएको छ ।
यातायात रोक्न सकिने
विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ । शुक्रबार र शनिबार अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्ने तयारी गरिएको उप्रेतीले बताउनुभयो ।
पहिरोको जोखिमलाई ध्यानमा राख्दै देशका प्रमुख राजमार्गमा तत्काल सडक खुलाउन आवश्यक पर्ने डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको छ ।
वर्षाका कारण कृषि क्षेत्रमा समेत ठूलो क्षति हुन सक्ने भएकाले खेतमा पाकेको धानबाली तथा भण्डारण गरिएको अनाज सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ । यसका लागि कृषि मन्त्रालयमार्फत छुट्टै सूचना जारी गरिएको छ ।
बाढीमा भिडियो बनाउन र दाउरा संकलन गर्न रोक
प्राधिकरणले बाढी आएको समयमा भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालमा सामग्री राख्ने क्रममा जोखिम नमोल्न सर्वसाधारणलाई चेतावनी दिएको छ ।
बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने गतिविधि पनि अत्यन्त जोखिमपूर्ण हुने भन्दै त्यस्ता कार्य नगर्न उप्रेतीले आग्रह गर्नुभएको छ ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै देशभरका सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ।








