काठमाडौँ: कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम तथा सम्भावित विपद् जोखिमबारे जानकारी लिनुभएको छ।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठसँग भेट गरी कार्यवाहक प्रधानमन्त्री वाग्लेले मौसमी अवस्थाको प्रक्षेपण तथा सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिनुभएको हो।
महानिर्देशक डा. श्रेष्ठले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (Deep Depression) र मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता (High Alert) जारी गरिएको जानकारी गराउनुभयो।
त्यसैगरी, प्राधिकरणका कार्यकारी प्रमुख डा. उप्रेतीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा रहेको जानकारी दिनुभयो। सम्भावित जोखिम रहेका जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पर्यटन, यातायात, पूर्वाधारलगायत सम्बन्धित क्षेत्रसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो।
सो क्रममा आइतबारदेखि मौसममा क्रमिक सुधार हुने अनुमान समेत जानकारी गराइएको थियो।








