काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले विश्व शान्ति तथा सुरक्षाको प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालले पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा राष्ट्रसङ्घका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा भएको साइडलाइन भेटवार्ताका क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि आभार व्यक्त गर्नुभएको हो ।
“संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसङ्घले निरन्तर व्यक्त गर्दै आएको विश्वासका लागि धन्यवाद व्यक्त गर्दछु”, मन्त्री खनालले भन्नुभयो, “नेपालले संयुक्त राष्ट्रसङ्घसँगको दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ ।”
विश्व शान्ति र सुरक्षाका लागि समर्पित हुँदै शान्ति स्थापनाका क्रममा जीवन उत्सर्ग गर्नुभएका तथा घाइते हुनुभएका नेपाली शान्ति सैनिकहरूको योगदानको उच्च सम्मान गर्दै मन्त्री खनालले उहाँहरूको त्याग र समर्पणप्रति श्रद्धासमेत व्यक्त गर्नुभयो ।
उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गर्नुभयो ।
“हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा चार हजार ३०० भन्दा बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ ।”
संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढङ्गले प्रतिक्रिया जनाउँदै आएको उल्लेख गर्दै उहाँले कठिन तथा चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो ।
नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जवाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभयो ।
“संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानले वर्तमान समयमा सामना गरिरहेको वित्तीय तथा तरलताको चुनौतीप्रति नेपाल पूर्ण रूपमा अवगत छ”, उहाँले भन्नुभयो, “यस्ता चुनौतीका बाबजुद नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाप्रतिको आफ्नो दृढ प्रतिबद्धतामा अडिग छ ।”
संयुक्त राष्ट्रसङ्घको अनुरोधअनुसार शान्ति अभियानमा परेको वित्तीय भार न्यूनीकरणका लागि नेपालले विभिन्न रचनात्मक उपाय अवलम्बन गर्दै आएको मन्त्री खनालले बताउनुभयो ।
“संयुक्त राष्ट्रसङ्घको अनुरोधबमोजिम अधिकारीहरूको कार्यावधि विस्तार गर्ने, व्यावसायिक उडानमार्फत शान्ति सैनिकका टोली परिचालन गर्ने, सामान तथा उपकरण ढुवानीसम्बन्धी सुविधामा आवश्यक समायोजन गर्ने तथा अन्य खर्च न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यमा नेपालले निरन्तर सहयोग गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
भेटवार्ताका क्रममा मन्त्री खनालले शान्ति स्थापनाका क्षेत्रमा नेपालले निरन्तर पुर्याउँदै आएको योगदान, प्रतिबद्धता र सहयोगलाई आगामी परिचालनका अवसरमा समेत उचित रूपमा सम्बोधन गर्न आग्रह गर्नुभयो ।
“नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा पुर्याउँदै आएको योगदान र निरन्तर सहयोगको उचित कदर हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो, “आगामी दिनमा नयाँ परिचालनका अवसर सिर्जना हुँदा नेपाललाई उचित रूपमा विचार गरिने विश्वास लिएका छौँ ।”
शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ–पिइरे लाक्रोइक्सले विश्व शान्ति स्थापनाको लागि नेपाल र नेपाली सरक्षाकर्मीहरूले खेलेको भूमिकालाई लिएर प्रशंसा गर्नुभयो ।रासस








