• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

नियम कसका लागि ?, खोप केन्द्रबाटै सङ्क्रमण फैलने जोखिम



काठमाडौँ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सो को रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको सरकारले बताएको छ । तर जारी गरेको आदेशलाई सरकार आफैँले उल्लङ्घन गरेको छ ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका विद्यार्थी, फ्रन्टलाइनरहरुलाई कोभिड–१९ को खोप लगाउने कार्यक्रममा विद्यार्थीहरुको लाइन हेर्दा नै त्यस्तो आदेश वा नियमको उल्लङ्घन भएको प्रस्टै देखिन्छ । आदेशमा कुनै पनि सामान अनावश्यक रूपमा छुन नपाइने तथा दुई व्यक्तिका बीचमा कम्तीमा पनि दुई मिटर दूरी कायम गर्न एवं मास्क अनिवार्य, पटकपटक साबुन पानीले हात धुने, सेनिटाइज गरी सञ्चालन गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

साथै २५ जनाभन्दा बढीको भिडभाड नगर्न पनि आदेश गरिएको छ । विश्व निकेतनमा विद्यार्थीहरुको लाइन हेर्दा त्यहाँ दुई मिटरको दूरी कायम गरेको देखिँदैन । विद्यार्थीको लाइन हेर्दा त्यहाँ २५ जनाभन्दा बढी नै विद्यार्थी रहेको देखिन्छ । हुन त सरकारले त्यस्ता आदेश पालना गर्न लगाउने कर्तव्य सञ्चालकको रहेको बताएको छ । तर सरकारले नै विद्यालयहरुमा विद्यार्थीलाई खोप लगाइरहेको छ ।

त्यसैले आदेश पालना भए नभएको अनुगमन, निरीक्षण गर्ने दायित्व सरकारको पनि हो । यसरी एकातिर अत्यन्त सङ्क्रामक भनिएको ओमिक्रोन भेरिएन्टको रोकथामका लागि आदेश जारी गरिएको भनिए पनि सरकारले नै आदेशको उल्लङ्घन गरेको देखिन्छ । यस्ता क्रियाकलाप भइरहँदा सरकार मूकदर्शक बनिरहेमा कोभिड महामारी नियन्त्रण गर्ने सरकारको प्रयास निरर्थक मात्र हुन जान्छ ।