• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

ओलीले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज(सोमबार) सुनुवाइ हुने भएको छ ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीको वैधानिकता बदर गर्न र उक्त पार्टीमा रहेका १४ जना सांसदलाई पदमुक्त माग गर्दै १७ भदौमा रिट दायर गरेका थिए । 

न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको हो ।

२२ भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले ओलीको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै ९ भदौमा नेकपा (एकीकृत समाजवादी) बनाउने निर्वाचन आयोगको निर्णय झिकाउन भने आदेश दिएको थियो । 

रिटमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गर्दै पदमुक्तका लागि गरेको सिफारिसअनुसार कारबाही नगरेको र एमालेलाई विभाजन गर्न मुख्य भूमिका निर्वाह गरेको ओलीले उल्लेख गरेका छन् । 

निर्वाचन आयोगले पनि गैरकानुनी रूपमा दल दर्ता गरेको ओलीको रिटमा उल्लेख छ । एमाले केन्द्रीय कमिटी बैठकले साउन २५ मा झलनाथ खनालसहितका सांसदहरूलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्राचार गरेको थियो ।

सभामुख सापकोटाले पदमुक्त गर्न गरेको पत्राचारलाई बेवास्ता गरेको आरोप एमालेले लगाउँदै आएको छ । 

यता, माधव नेपालले एकीकृत समाजवादी दलको दर्तापछि मात्रै सभामुख सापकोटाले दल दर्ता भइसकेकाले आवश्यक कारबाही गरिरहनु परेन भन्दै सूचना टाँस गरेका थिए ।

जसकारण अध्यक्ष ओलीले निर्वाचन आयोगसँगै सभामुख सापकोटालाई पनि विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन् ।