६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु



अ+ अ-

दमौली, (तनहुँ) । तनहुँको धार्मिक पर्यटकीयस्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी गाउँपालिकाले वडा नं १ स्थित आँधीमूलमा १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । यहाँ ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयोे । “आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित यहाँ ताल निर्माण सुरु गरिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौँ”, अध्यक्ष चुमानले भन्नुभयो । उहाँले यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको सुनाउनुभयो ।

आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटक वृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँकानुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्टि गर्दै आएका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । यहाँ हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ । जल, जङ्गल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।

यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको हो । पृथ्वीराजमार्गको सत्रसयबाट साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

यहाँ रहेको मन्दिर, २३ वटा धारालगायतले पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ टाढा–टाढाबाट मानिस आउने गरेका छन् ।

प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । यहाँ तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो । “यहाँ दर्शन गरेमा मनले चिताएको विश्वास रहेकाले टाढा(टाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् । पछिल्लो समय पर्यटकी पूर्वाधार निर्माण, सडक कालोपत्र भएकाले थप सहज भएको छ । अब ताल निर्माण भएमा थप आकर्षण गर्ने विश्वास छ”, उहाँले भन्नुभयो । रासस