१० भाद्र २०८३, बुधबार
,
Latest
पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित



अ+ अ-

काठमाडौं । रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षतिग्रस्त संरचनाको तत्काल विवरण संकलन गरी उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्देशन दिनुभएको छ।

बुधबार बिहान बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्री श्रेष्ठले मन्त्रालयमा वरिष्ठ व्यवस्थापन समूह (एसएमटी)को बैठक बोलाएर घटनाको प्रारम्भिक अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले विपद्मा परेका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको उद्धार र पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राख्दै गृह मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा तत्काल संयन्त्र परिचालन गर्न निर्देशन दिनुभएको हो।

मन्त्री श्रेष्ठले विपद्सम्बन्धी सूचना व्यवस्थित र शीघ्र प्रवाह गर्न मन्त्रालय सक्रिय रहनुपर्ने बताउँदै ऊर्जा तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी पुनःस्थापनाको काम अघि बढाउन निर्देशन दिनुभएको छ। काठमाडौं उपत्यकासहित देशभर विद्युत् आपूर्ति नियमित र सुरक्षित राख्न वैकल्पिक तथा आकस्मिक व्यवस्थाका लागि समेत तयारी गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभएको छ।

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा स्थानीय बासिन्दाको अवस्था पहिचान गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि सात वटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ भने थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको जनाएको छ। हवाई उद्धारका लागि समेत समन्वय भइरहेको छ। उद्धार तथा समन्वयका लागि मन्त्रालयका सहसचिवसमेत प्रभावित क्षेत्रमा खटिएका छन्।

रसुवाका आठ जलविद्युत् आयोजना प्रभावित

मन्त्रालयका अनुसार बाढीबाट रसुवामा सञ्चालनमा रहेका पाँच र निर्माणाधीन तीन गरी आठ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २३६ मेगावाट तथा निर्माणाधीन आयोजनाको क्षमता ३४२.४२ मेगावाट रहेको छ।

प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना रहेका छन्।

त्यसैगरी, नुवाकोटमा सञ्चालनमा रहेका चार तथा निर्माणाधीन दुई गरी छ वटा आयोजना पनि बाढीबाट प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता सञ्चालनतर्फ १२३ मेगावाट र निर्माणाधीनतर्फ ५२.६ मेगावाट रहेको मन्त्रालयले जनाएको छ।

प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडल त्रिशूली गंगा तथा २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन्।

विद्युत् आपूर्ति नियमित राख्न प्राविधिक टोली परिचालन

विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित संरचनाको अवस्था मूल्यांकन गरी सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनःस्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीको जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको छ। तर बाढीबाट केन्द्रले जडान गरेका गेज स्टेसनलगायत केही संरचनामा समेत क्षति पुगेकाले थप जोखिमसम्बन्धी सूचना प्रवाहमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)सँग छलफल गरी जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनःस्थापनाका विषयमा जानकारी लिएको छ। निजी क्षेत्रका आयोजनाको क्षति विवरण शीघ्र संकलन गरी पुनःस्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्रभावित आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा प्राविधिक मूल्यांकन भइरहेको छ। क्षतिको यथार्थ विवरण प्राप्त भएपछि पुनःस्थापनाका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढाइनेछ। समग्र क्षति विवरण संकलन तथा मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।




भर्खरै